जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा

जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जलवायु परिवर्तनको विषयलाई राष्ट्रिय सुरक्षा र नेपालको अन्तर्राष्ट्रिय कूटनीतिसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

शुक्रबार कांग्रेसको ‘ग्रिन टेबल’ कार्यक्रममा बोल्दै थापाले भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपाललाई जलवायु परिवर्तनका विषयमा नयाँ ढंगले सोच्नुपर्ने सन्देश दिएको बताए ।

उनले भने, ‘हामीले हाम्रो नेसनल सेक्युरिटीको कुरा अर्कै कोठामा बसेर, क्लाइमेट चेन्जको कुरा अर्कै कोठामा बसेर गर्ने, कूटनीतिको कुरा अर्कै कोठामा बसेर गर्ने के यो सुविधा हामीसँग छ ?’

थापाले नेपालका संस्थाहरूले बहुविषयगत रूपमा काम गर्न सक्ने संरचना बनाउनुपर्ने बताए । जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र कूटनीतिलाई छुट्टाछुट्टै विषयका रूपमा हेर्न नहुने उनको भनाइ थियो ।

थापाले प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघको महासभा र कोप सम्मेलनको सहभागितामा विगतमा नेपालले उठाउँदै आएका विषयको निरन्तरता र दीर्घकालीन राष्ट्रिय हितलाई ध्यान दिनुपर्ने बताए ।

भोटेकोशी बाढीबाट प्रभावित परिवारको अवस्थाले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै थापाले उद्धार, राहत र पुनःस्थापनासँगै प्रभावित क्षेत्रको दीर्घकालीन जीविकोपार्जनका विषयमा पनि ध्यान दिनुपर्ने बताए ।

उनले रसुवालगायत क्षेत्रमा धेरै परिवारले आफ्ना आफन्त गुमाएको, कतिपय परिवारले शवसमेत प्राप्त गर्न नसकेको र ठूलो संख्यामा मानिस घरबारविहीन भएको बताए ।

थापाले विपद्पछि केही दिनसम्म मात्रै चासो दिने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए । उनका अनुसार विपद्का विषयमा तत्कालीन उद्धार र राहतसँगै तथ्य तथा प्रमाणमा आधारित अध्ययन र दीर्घकालीन पुनर्निर्माणको काम निरन्तर अघि बढाउन आवश्यक छ ।

उनले नेपाली कांग्रेसले सरकारलाई विपद् व्यवस्थापन तथा पुनःस्थापनाका विषयमा निरन्तर साथ, सहयोग र सहकार्य गर्ने बताए ।

साथै, विपक्षी दलका रूपमा आगामी दिनमा संसद्मार्फत विपद्का विषयलाई निरन्तर उठाइरहने प्रतिबद्धता व्यक्त गरे ।