ललितपुर । ललितपुर महानगरपालिका–२४, धापाखेलमा लगातारको अविरल वर्षाका कारण जमिन भासिँदा साढे दुई तले पक्की घर खोलामा खसेको छ । घर खसेर खोला थुनिए पनि समयमै उद्धार र सतर्कता अपनाइएकाले कुनै मानवीय क्षति भने हुन पाएन ।
प्रहरी प्रभाग धापाखेलका अनुसार स्थानीय सोबितकुमार थापाको साढे दुई तले पक्की घर पहिरोका कारण जोखिममा परेको थियो । असोज ११ गते दिउँसो करिब १ः४० बजे घरको भुइँतलासँगै जोडिएको ट्रसको भान्सा कोठा करिब २० मिटर तल खस्यो ।
भान्सा भत्किएलगत्तै मुख्य घरसमेत जोखिममा परेपछि प्रहरी प्रभाग धापाखेलबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) को कमाण्डमा ४ जनाको टोली तत्काल घटनास्थल पुगेको थियो । जोखिमको अवस्था आँकलन गरी घरमा रहेका परिवारका ३ जना सदस्यलाई तत्कालै सुरक्षित स्थानमा रहेको आफन्तको घरमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
असोज १२ गते बिहान ६ः३५ बजे साढे दुई तले पक्की घर पूर्ण रूपमा भासिएर तल रहेको खोलामा खसेको छ । घर खोलामा खसेपछि खोलाको पानी थुनिन पुगेको प्रहरीले जनाएको छ ।
समयमै परिवारलाई सुरक्षित स्थानमा सारिएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको ललितपुर प्रहरीले जानकारी दिएको छ । घटनास्थल धापाखेल प्रहरी प्रभागबाट करिब ७०० मिटर पूर्वमा पर्दछ । हाल प्रहरी टोली घटनास्थलमा खटिएर थुनिएको खोलाको निकास खुलाउने र थप जोखिम न्यूनीकरण गर्ने कार्यमा जुटेको छ ।

प्रतिक्रिया