अर्थमन्त्री डा वाग्ले र एआइआइबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

अर्थमन्त्री डा वाग्ले र एआइआइबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता


काठमाडौँ। एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ ।

कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डा वाग्लेले नेपालमा एआइआइबीको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनःनिर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंककी अध्यक्ष जियायीलाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा एआइआइबीकी अध्यक्ष जियायीले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गर्नुभयो । उहाँले विपद्पछिको पुनःनिर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अध्यक्ष जियायीले बैंकले ‘प्रोजेक्ट प्रिपरेसन स्पेसलाइस्ड फण्ड’मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउनेछ । साथै, स्पेसलाइस्ड फण्ड विन्डो अन्तर्गतको अनुदान प्रयोग गरी एआइआइबीले नेपाललाई दिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने विचार उहाँले व्यक्त गर्नुभयो ।

अर्थमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार एआइआइबीको संस्थापक सदस्य राष्ट्र नेपालको आर्थिक विकासमा थप सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत उहाँले दोहो¥याउनुभयो । सो अवसरमा अर्थमन्त्रीले नयाँ अध्यक्ष जियायीलाई बधाई दिँदै बैंकले संस्थापक सदस्यका रूपमा नेपाललाई पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले एआइआइबीको लगानीमा हाल सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गर्नुभयो । साथै, बैंकको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पुर्याएको क्षतिप्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।

अर्थमन्त्री डा वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक पूर्वाधार र डिजिटल पूर्वाधारको विकासमा बैंकको आफ्नै स्रोतका साथै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गरिदिन आग्रह गर्नुभयो ।

छलफलकै क्रममा अर्थमन्त्री डा वाग्लेले अध्यक्ष जियायीलाई सन् २०२६ भित्रै नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिनुभयो ।