काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
साइबर ब्युरोले सोमबार म्याद थपका लागि प्रसाईंलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । अदालतले अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईंलाई सोमबार बिहान साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो । खतिवडा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा हुन् ।
सामाजिक सञ्जालमार्फत शहीद रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोपमा प्रसाईंविरुद्ध उजुरी परेको हो । सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पटकपटक पक्राउ पर्दै आएका छन् । गत साउन १८ गते सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भएका थिए ।
त्यसअघि गत भदौ ४ गते प्रहरीले प्रसाईंको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा प्रहरीले बरामद गरेका सामान सर्वोच्च अदालतको आदेशपछि फिर्ता गरेको थियो ।

प्रतिक्रिया