काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्न पर्ने कारण पेश गर्न प्रहरीलाई आदेश दिएको छ ।
प्रसाईंका तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ४८ घण्टाभित्रमा लिखित जवाफ बुझाउन भनेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईंलाई सोमबार बिहान साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो । खतिवडा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा हुन् ।
सामाजिक सञ्जालमार्फत शहीद रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोपमा प्रसाईंविरुद्ध उजुरी परेको हो । सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पटकपटक पक्राउ पर्दै आएका छन् । गत साउन १८ गते सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भएका थिए ।
त्यसअघि गत भदौ ४ गते प्रहरीले प्रसाईंको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा प्रहरीले बरामद गरेका सामान सर्वोच्च अदालतको आदेशपछि फिर्ता गरेको थियो ।

प्रतिक्रिया