पोखरा,
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनअन्तर्गत भएको निर्वाचन प्रक्रिया विवादित बनेको छ।
क्षेत्रीय सभापतिका उम्मेदवार सुवास सिग्देलले निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्रलाई अवैध घोषणा गर्नुपर्ने भन्दै निर्वाचन रद्द गरी पुनः मतदान गराउन माग गरेका छन्।
मतगणना सुरु हुनुअघि नै निर्वाचन प्रक्रिया बहिष्कार गरेर बाहिरिएका सिग्देलले मंगलबार विज्ञप्ति जारी गर्दै निर्वाचनमा पार्टीका केन्द्रीय नेताहरूको मिलेमतोमा विधि र नियम उल्लङ्घन गरिएको आरोप लगाएका छन्।
सिग्देलका अनुसार मतदान सम्पन्न भएपछि निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ३२ भन्दा बढी मतपत्र फेला परेका थिए। निर्वाचन नियमावलीअनुसार निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर हुनुपर्ने भए पनि नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता देवराज चालिसेले ती मतपत्रलाई समेत सदर गर्नुपर्ने धारणा राखेपछि मान्यता दिइएको उनको आरोप छ।
हस्ताक्षर नभएका मतपत्रलाई सहमतिका नाममा जबर्जस्ती सदर गर्न खोजिएको भन्दै आफूले निर्वाचन प्रक्रिया बहिष्कार गरेको सिग्देलले बताएका छन्।
उनले निर्वाचनका क्रममा करिब २० देखि २५ वटा मत अरू व्यक्तिको नाममा नक्कली मतदाता खडा गरी हाल्न लगाइएको दाबीसमेत गरेका छन्। त्यस्तै, वडा अधिवेशनमा पराजित भएका व्यक्तिहरूलाई केन्द्रबाट पत्र बनाएर ११ जना प्रतिनिधि थप गरिएको उनको आरोप छ।
वडा अधिवेशनमा पराजित व्यक्तिलाई केन्द्रबाट तोक लगाएर क्षेत्रीय प्रतिनिधि बनाउँदै मतदानमा सहभागी गराइएको भन्दै सिग्देलले निर्वाचन प्रक्रियामा विधिको शासन कायम हुनुपर्ने बताएका छन्।
क्षेत्रीय सभापतिमा नवीन बराल १४९ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी सिग्देलले १४२ मत प्राप्त गरेका थिए। सिग्देल पक्षले भने विवादित ३२ मतपत्र र केन्द्रबाट थपिएका भनिएका ११ प्रतिनिधिको मतका कारण निर्वाचन परिणाम प्रभावित भएको दाबी गरेको छ।
सिग्देलले आफूले हारजितलाई स्वीकार गर्ने भए पनि निर्वाचनका स्थापित नियम र प्रक्रियालाई बेवास्ता गरेर गरिएको निर्णय स्वीकार्य नहुने बताएका छन्। उनले विवादित निर्वाचन रद्द गरी पुनः निर्वाचन गराउन माग गर्दै आवश्यक कानुनी उपचार खोज्ने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया