चाडपर्वमा काठमाडौंको सुरक्षा व्यवस्था कडा, ३ हजार ५०६ प्रहरी परिचालन गरिने

चाडपर्वमा काठमाडौंको सुरक्षा व्यवस्था कडा, ३ हजार ५०६ प्रहरी परिचालन गरिने


काठमाडौं । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सहज आवागमन तथा धनजनको सुरक्षा सुनिश्चित गर्न काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत ३ हजार ५०६ जना प्रहरी परिचालन गर्ने जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार आयोजित प्रेस भेटघाटमार्फत सार्वजनिक गरेको सुरक्षा योजनाअनुसार ९८ वटा क्षेत्रमा सुरक्षा निगरानी, १६६ मोबाइल टोली, ५०८ पिकेट, २१० पैदल गस्ती, १५२ क्यूआरटी मोटरसाइकल, १४० कर्डन सर्च, १४० क्यूआरटी टोली, ७० जना सादा पोसाकका प्रहरी र १३३ चेकप्वाइन्ट परिचालन गरिनेछ ।

त्यस्तै, ८० स्थानमा मन्दिर ड्युटी, ७६ वटा हेल्प डेस्क र १४८ टिकट काउन्टरमा समेत प्रहरी परिचालन गरिनेछ ।

सुरक्षा योजनाअन्तर्गत धार्मिक तथा सांस्कृतिक स्थल, बसपार्क, सार्वजनिक यातायात क्षेत्र, खाद्यान्न तथा खसी बजार, बैंक तथा वित्तीय संस्था, एटीएम, किनमेल क्षेत्र, सुनचाँदी पसल तथा अत्यधिक भीडभाड हुने स्थानलाई संवेदनशील क्षेत्रका रूपमा राखिएको छ । नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर, रत्नपार्क, न्यूरोड, असन, गोंगबु, बालाजु, गौशाला, चाबहिललगायत क्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरिने प्रहरीले जनाएको छ ।

प्रहरीले चाडपर्वका समयमा हुन सक्ने हत्या, बलात्कार, मानव बेचबिखन, अपहरण, धम्की, पाकेटमारी, चोरी, लुटपाट, जुवा तथा अवैध खेल, नक्कली नोट र वैदेशिक मुद्रा ठगीलाई प्रमुख सुरक्षा जोखिमका रूपमा पहिचान गरेको छ ।

त्यसैगरी अवैध पटका तथा आतसबाजी, मदिरा तथा लागूऔषध सेवनपछि हुने सवारी दुर्घटना, टिकटको अनियमित बिक्री, यात्रु तानातान, झैझगडा तथा बन्द रहेका घर र कार्यालयमा चोरी हुन सक्ने सम्भावनालाई समेत सुरक्षा चुनौतीका रूपमा राखिएको छ ।

सुरक्षा व्यवस्थापनका लागि सूचना संकलन तथा विश्लेषण, प्रभावकारी प्रहरी परिचालन, विभिन्न निकाय तथा समुदायसँग समन्वय, कानुन कार्यान्वयन र प्रविधिको प्रयोगलाई मुख्य रणनीति बनाइएको छ । प्रहरीले सीसीटीभी, ड्रोन, कुकुरसहितको टोली, सामाजिक सञ्जाल तथा सूचना प्रवाहलाई समेत सुरक्षा निगरानीमा प्रयोग गर्ने जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट तीन वटा ड्रोन परिचालन गरिनेछ । त्यस्तै, १० स्थानमा सार्वजनिक सूचना प्रसारण प्रणाली राखिनेछ ।

यात्रु तथा सर्वसाधारणको सहजताका लागि कलंकी, बल्खु, कोटेश्वर, जडिबुटी, गोंगबु बसपार्क, बालाजु, सितापाइला र जोरपाटीलगायत क्षेत्रमा नागरिक सहायता कक्ष तथा हेल्प डेस्क सञ्चालन गरिनेछ ।

सम्भावित घटनामा तत्काल प्रतिक्रिया दिन सि.आर.भी., मोबाइल, स्ट्राइकिङ, एम्बुस तथा संयुक्त चेकिङ टोलीसमेत परिचालन गरिने प्रहरीले जनाएको छ । यसैगरी तालुक कार्यालयबाट थप १९० जना प्रहरी परिचालन गरिनेछ ।