दाउन्ने बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत


नवलपरासी (बर्दघाट–सुस्तापूर्व) — पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको छ।

नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एसमोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले जनाएको छ। बसमा चालकसहित १८ जना यात्रु सवार थिए।

प्रहरीका अनुसार दुर्घटनामा बाँकेको खजुरा गाउँपालिका–२ का ३६ वर्षीय चालक सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया, जाजरकोटको भेरीगङ्गा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ गुरुङ र बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकालाई प्रारम्भिक उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको थियो। त्यहाँ उपचारपछि आठ जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।