सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित


काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ ।

सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी बल, नेपालले दाहालमाथि कारबाही गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

उक्त आरोपमाथि जाँचबुझ गर्न मन्त्रालयले असोज १९ गतेको निर्णयअनुसार दाहाललाई निलम्बन गरेको हो । साथै, तीन दिनभित्र जाँचबुझ पूरा गरी प्रतिवेदन पेस गर्ने गरी जाँचबुझ अधिकृतसमेत तोकिएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, संवेदनशील तथा गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ ।

मन्त्रालयले कानूनविपरीतका गतिविधि वा घटनामा संलग्न जोसुकैलाई पनि प्रचलित कानूनबमोजिम कारबाही गर्ने स्पष्ट पारेको छ ।