कांग्रेस महाधिवेशन : टिम नबनाउने भनिए पनि बाँडिएको छ फरक-फरक सूची

कांग्रेस महाधिवेशन : टिम नबनाउने भनिए पनि बाँडिएको छ फरक-फरक सूची


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्न महाधिवेशन प्रतिनिधिहरू मतदानमा सहभागी भइरहेका छन् । मतदान अहिले २ बजे सुरु भएको हो ।

महाधिवेशनमा उम्मेदवारहरूले औपचारिक रूपमा प्यानल वा टिम नबनाउने बताउँदै आए पनि मतदानको पूर्वसन्ध्यामा भने विभिन्न समूहले आफ्ना उम्मेदवारको सूची बनाएर प्रतिनिधिहरूमाझ बाँडेको पाइएको छ ।

नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका समूहहरूले सभापतिदेखि पदाधिकारी र केन्द्रीय सदस्यसम्मका उम्मेदवारलाई समेटेर आ–आफ्नो सूची प्रतिनिधिहरूलाई उपलब्ध गराएका छन् । सार्वजनिक रूपमा टिम नबनाउने भनिए पनि उम्मेदवारहरूको समूहगत समीकरण र समर्थनको अवस्था सूचीमार्फत देखिन थालेको हो ।

सभापतिमा दोहोरिने प्रायः निश्चित भएका गगन थापाले नै टिम नबनाउने र कुनै समूहको सीमित घेरामा नराखी सबै प्रतिनिधिको समर्थन जुटाउने दाबी गर्दै आएका छन् । तर पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारहरूबीचको सहकार्य तथा समर्थनका आधारमा समूहगत रूपमा मत माग्ने क्रम भने तीव्र बनेको छ । सबैले सभापतिमा थापालाई नै बनाएर उपसभापतिदेखि तलका पदहरूमा सूची बनाएका छन् ।

दुई उपसभापति,२ महामन्त्री, ११ सहमहामन्त्री र सदस्यहरूमा तीव्र प्रतिस्पर्धा छ । वरष्ठि सभापतिमा विश्वप्रकाश शर्मा र उपसभातिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् । सभापतिमा गगन थापा र श्याम खड्की उम्मेदवार छन् ।

मतदानसँगै विभिन्न उम्मेदवारका समर्थकहरूले प्रतिनिधिहरूसँग भेटघाट गर्दै आफ्नो पक्षका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिरहेका छन् । विशेषगरी पदाधिकारी र केन्द्रीय सदस्यमा कसलाई मत दिने भन्ने विषयमा प्रतिनिधिहरूलाई सूची उपलब्ध गराउने क्रम बढेको छ ।

कांग्रेस नेतृत्वले यसपटक महाधिवेशनलाई गुटगत राजनीतिभन्दा माथि उठाउने र नयाँ नेतृत्व चयन गर्ने अवसरका रूपमा प्रस्तुत गर्दै आएको छ । तर मतदानको समयमा देखिएको समूहगत सक्रियताले कांग्रेसभित्रको परम्परागत गुटगत प्रतिस्पर्धा पूर्ण रूपमा अन्त्य नभएको संकेत गरेको छ ।

कुन ठाउँमा हुँदै छ कुन क्षेत्रको मतदान ?

राष्ट्रिय सभागृह, मतदान केन्द्र ‘क’
बागमती प्रदेश

मतदान केन्द्र ‘ख’ खुलामञ्चमा

कोशी प्रदेश तथा तराई–मधेश समूह

हिमाल हल
गण्डकी प्रदेश

तराई–मधेश हल
मधेश प्रदेश

पहाड हल
लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधि ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्।

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ।

निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन। प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन्।

अब मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। नयाँ नेतृत्व चयनका लागि हुने मतदानपछि मतगणना शुरू गरिने निर्वाचन समितिले जनाएको छ।

१५ औँ महाधिवेशनले विधान संशोधन गरेर कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।

मतदान सकिएपछि मतगणना सुरु हुनेछ भने मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।