प्रहरीलाई संविधान र कानुनअनुसार निष्पक्ष भएर काम गर्न प्रधानमन्त्री शाहको निर्देशन

प्रहरीलाई संविधान र कानुनअनुसार निष्पक्ष भएर काम गर्न प्रधानमन्त्री शाहको निर्देशन


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्न निर्देशन दिएका छन् ।

प्रहरी निरीक्षक आधारभूत तालिम (१–१८४औँ समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन र संगठनको प्रोटोकलविपरीत काम नगर्न प्रहरी अधिकृतहरूलाई सचेत गराएका हुन् ।

‘मलाई विश्वास छ– यहाँहरू कुनै पनि किसिमको दबाब र प्रभावमा पर्नुहुने छैन । आफ्नो संगठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न हुनुहुनेछैन,’ उनले भने ।

प्रधानमन्त्री शाहले प्रहरी सेवामा नैतिकता, निष्ठा र इमानदारीलाई व्यावसायिक सफलताको पहिलो आधारका रूपमा व्याख्या गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही पालना गर्नुपर्नेमा जोड दिए । जिम्मेवारीप्रतिको जवाफदेहिता पनि व्यावसायिक सफलताको महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ थियो ।

देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र संकटका बेला नागरिकको जिउधनको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको रहेको उल्लेख गर्दै शाहले कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी तथा भेदभाव नगरी कर्तव्य निर्वाह गर्न आग्रह गरे ।

‘नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास छ,’ उनले भने, ‘आम नागरिकले अनुभूत गर्ने गरी काम गर्न यहाँहरूलाई आग्रहसमेत गर्दछु ।’

१६ महिने आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री शाहले तालिममा हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान र सीप उनीहरूले पूर्ण रूपमा हासिल गरेको विश्वाससमेत उनले व्यक्त गरे ।

बदलिँदो समयसँगै अपराधका स्वरूप र प्रवृत्ति पनि परिवर्तन भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्ने बताए ।

सूचना प्रविधिले प्रहरीको कामलाई छिटो, छरितो र पारदर्शी बनाउन सहयोग गर्ने उनको भनाइ थियो । यसका लागि समग्र प्रहरी संगठन, नेतृत्व र प्रशिक्षकहरूको पनि महत्त्वपूर्ण भूमिका रहने उनले बताए ।

प्रधानमन्त्री शाहले वैज्ञानिक अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन र प्रहरीप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

प्रहरी सेवामा प्रवेश गरेका अधिकृतहरूको असल कर्मले नै उनीहरूको भविष्य निर्माण गर्ने उल्लेख गर्दै उनले इमानदारी र अनुशासनलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले चुनौतीपूर्ण प्रहरी सेवामा आफ्ना छोराछोरीलाई आबद्ध हुन निरन्तर प्रेरित गर्ने अभिभावक तथा परिवारजनप्रति आभार व्यक्त गरे । साथै, दीक्षान्त समारोह आयोजना गर्ने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई धन्यवाद दिँदै दीक्षित प्रहरी अधिकृतहरूको कार्यसफलताको कामना गरे ।