नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काम गर्नुपर्छ : प्रधानमन्त्री

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काम गर्नुपर्छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति–सुरक्षाको अनुभूति गर्नेगरी कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित ‘प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४ औं समूह’ को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले पेसागत सफलताको मुख्य मानक नै नैतिकता, निष्ठा र इमानदारिता भएको बताएका हुन् ।

‘कुनैपनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता हो,’ प्रधानमन्त्री शाहले भने, ‘पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डहरूको सही पालना गर्नु–गराउनुले सफलता हासिल गर्न मद्दत पुग्छ ।’ उनले प्रहरी सेवामा आबद्ध सबैका लागि जिम्मेवारीप्रति जवाफदेहीता अनिवार्य सर्त भएको उल्लेख गरे ।

प्रधानमन्त्री शाहले मुलुकमा निरन्तर शान्ति सुरक्षा कायम राख्न, अपराध अनुसन्धान गर्न र संकटको घडीमा नागरिकको जिउधनको रक्षा गर्न नेपाल प्रहरी सदैव अग्रपंक्तिमा रहने स्मरण गराए ।

दीक्षित प्रहरी अधिकृतहरूलाई सङ्गठनको मर्यादा कायम राख्न सचेत गराउँदै उनले भने, ‘तपाईंहरूको असल कर्मले नै असल भविष्य निर्माण गर्नेछ। मलाई विश्वास छ, तपाईंहरू कुनै पनि दबाब वा प्रभावमा पर्नुहुने छैन र सङ्गठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न हुनुहुने छैन ।’

बदलिँदो समयसँगै अपराधका स्वरूप र प्रवृत्ति फेरिएको उल्लेख गर्दै उनले अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक तथा प्रमाणमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग अपरिहार्य रहेको औंल्याए ।

प्रधानमन्त्री शाहले प्रविधिमैत्री र प्रभावकारी अनुसन्धानका लागि आवश्यक पर्ने सम्पूर्ण स्रोत–साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

१६ महिना लामो आधारभूत तालिम पूरागरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई पूर्ण रूपमा व्यवहारमा उतार्न आग्रह गरे । साथै, आफ्ना सन्तानलाई चुनौतीपूर्ण सेवामा पठाउने अभिभावकहरूप्रति आभार व्यक्त गर्दै उनले प्रतिष्ठानलाई समेत धन्यवाद दिए ।

यस्तै, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले सात दशक लामो इतिहासमा अनेकौं चुनौती सामना गर्दै नागरिकको सुरक्षामा सदैव अग्रपंक्तिमा रहेर काम गरिरहेको बताए ।

उनले राजनीतिक परिवर्तन, द्वन्द्व र विपद्का बीच पनि संगठनले जिउधनको सुरक्षाको दायित्व कुशलतापूर्वक पूरा गरेको उल्लेख गरे ।