मेडिकल कलेजहरूको एक महिने आन्दोलन स्थगित

मेडिकल कलेजहरूको एक महिने आन्दोलन स्थगित


काठमाडौं ।

मेडिकल कलेजहरूले एक महिनाभन्दा लामो समयदेखि जारी राखेको आन्दोलन स्थगित गरेका छन् ।

सरकारले माग पुरा गर्ने प्रतिबद्धता जाहेर गर्दै वार्ता समिति गठन गरेपछि उनीहरूले आन्दोलन स्थगित गरेका हुन् । माइतीघर मण्डलामा उनीहरु ३८ दिनदेखि धर्नामा थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा। विकास देवकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ ।

उनीहरूले उठान गरेका माग सम्बोधन गर्ने विषयमा सरकार गम्भीर रहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले धर्ना स्थगित गर्न आग्रह गरेका थिए, सोही आधारमा सरकारले वार्ता समिति गठन गरेको हो ।

निजी मेडिकल कलेजले उठाएका मागहरू चिकित्सा शिक्षा ऐन संशोधनसँग जोडिएको थियो, उनीहरुको मागलाई संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समेत चासो देखाउँदै समस्याबारे अध्ययन गर्नको लागि कार्यदल नै गठन गरेको छ ।

वार्ता र छलफलको माध्यमबाट अगाडि बढ्ने माग सुनुवाइ नभएको खण्डमा पुनः आन्दोलनमा जाने उनीहरूको चेतावनी छ ।

सरकारले समेत ऐन संशोधन लगायतका विविध विषयमा प्रक्रिया अगाडि बढाइसकेको छ ।