अम्बानीको जियोको कीर्तिमानी आईपीओअघि भारतमा सस्तो स्टारलिंक सेवा दिने मस्कको घोषणा

अम्बानीको जियोको कीर्तिमानी आईपीओअघि भारतमा सस्तो स्टारलिंक सेवा दिने मस्कको घोषणा


काठमाडौं । अर्बपति एलन मस्कले भारतमा स्टारलिंकको स्याटेलाइट इन्टरनेट सेवा सस्तो मूल्यमा उपलब्ध गराउने बताएका छन् । मुकेश अम्बानीको सस्तो इन्टरनेट सेवा रिलायन्स जियोलाई चुनौती दिने तयारीका बीच मस्कको यो घोषणाले दुई अर्बपतिबीचको प्रतिस्पर्धा थप चर्काएको छ ।

जियोको मातृ कम्पनी जियो प्लेटफर्म्सले भारतकै अहिलेसम्मको सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरिरहेका बेला मस्कले यस्तो बताएका हुन् ।

जियो प्लेटफर्म्सले आईपीओमार्फत आफ्नो कम्पनीको मूल्यांकन १०६ अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । स्पेसएक्सको स्वामित्वमा रहेको स्टारलिंकजस्तै जियोको आफ्नै स्याटेलाइट इन्टरनेट परियोजना पनि सञ्चालन अनुमति पर्खिरहेको छ । दुवै कम्पनीले अन्तिम सुरक्षा स्वीकृति पाउन बाँकी छ ।

सस्तो इन्टरनेट डेटा उपलब्ध गराउने रणनीतिले नै भारतमा जियोलाई स्थापित गरेको थियो । मस्कले पनि केन्याजस्ता बजारमा स्थानीय दूरसञ्चार कम्पनीहरूलाई चुनौती दिन यही रणनीति अपनाएका छन् । स्पेसएक्सले अमेरिकाबाट सुरु गर्दै मोबाइल सेवा प्रदायकको बजारमा समेत प्रवेश गर्ने योजना बनाएको छ ।

भारतमा मोबाइल इन्टरनेट डेटाको मूल्य प्रतिगिगाबाइट करिब आठ सेन्ट छ, जुन विश्वकै सस्तो दरमध्ये पर्छ । तर, मस्कले भारतमा स्टारलिंक सेवाको निश्चित मूल्य भने सार्वजनिक गरेका छैनन् ।

शनिबार आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै मस्कले भने, ‘भारतमा स्टारलिंक अत्यधिक महँगो भयो भने कसैले पनि किन्ने छैन । त्यसैले स्पेसएक्सले यसको मूल्य सस्तो बनाउनुपर्नेछ ।’

उनले थपे, ‘प्रतिस्पर्धाले सधैँझैँ भारतका सर्वसाधारण नागरिकलाई बढी विकल्प दिएर ठूलो फाइदा पुर्‍याउने वास्तविकता हो । अम्बानीको नाफा घट्नेछ, तर उनको व्यवसाय बन्द हुने छैन ।’

‘प्रधानमन्त्री अम्बानी’

मस्कको पछिल्लो टिप्पणी उनले एक्समा गरेका शृंखलाबद्ध पोस्टहरूको निरन्तरता हो । ती पोस्टमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार र अम्बानीमाथि स्टारलिंकलाई भारतको विशाल इन्टरनेट बजारमा प्रवेश गर्न रोक्ने प्रयास गरेको आरोप लगाएका छन् । मस्कका अनुसार बजारको अग्रणी कम्पनी जियोलाई फाइदा पुर्‍याउन यस्तो गरिएको हो ।

मस्कको पछिल्लो अभिव्यक्तिले मोदीसँग लामो समयदेखि सार्वजनिक रूपमा सौहार्दपूर्ण सम्बन्ध राख्दै आएका उनको शैलीमा उल्लेखनीय परिवर्तन देखाएको छ ।

भारत सरकारले भने अनुमति प्रक्रियामा कुनै पक्षपात नभएको बताएको छ । स्टारलिंक र जियासहित भारतमा स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन गर्न चाहेका तीनवटै परियोजना अन्तिम सुरक्षा स्वीकृतिको प्रतीक्षामा रहेको सरकारको भनाइ छ ।

शुक्रबार राति मस्कले अम्बानीलाई सीधै सम्बोधन गर्दै व्यङ्ग्य गरेका थिए । उनले अम्बानीलाई ‘प्रधानमन्त्री अम्बानी’ भन्दै स्टारलिंकलाई प्रतिस्पर्धा गर्न अनुमति दिने विषयमा विचार गर्न आग्रह गरेका थिए ।