काठमाडौ । नेपाली कांग्रेसको महाधिवेसनस्थलबाटै पक्राउ परेकी नेत्री विनिता खड्कालाई थुनामा राख्न अनुमति दिन अदालतले अस्वीकार गरेको छ। शुक्रबार खुल्लामञ्चमा मतदान चलिरहँदा केन्द्रीय सदस्यको उम्मेदवार समेत रहेकी खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो। उनलाई ठगीको आरोप लागेको छ।
सोमबार म्याद थपका लागि उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। तर अदालतले उनीविरुद्ध ठगीको कसुर प्रमाणित हुने (रकम दिए खाएको प्रमाण)कुनै पनि प्रमाण नरहेको भन्दै थुनामा राख्न म्याद थप गर्न अस्वीकार गरेको हो। न्यायाधीश तेजबहादुरको खड्काको इजलासले दिएको आदेशमा भनिएको छ, ‘पक्राउ परेका अन्य प्रतिवादीहरूको बयानमा निजलाई पोल गरेको अवस्था पनि रहेको नदेखिएको तथा पीडितहरूको तर्फबाट पेश भएको जाहेरी दरखास्त व्यहोरामा यी विनिता खड्काले जाहेरवालाहरूबाट रकम लिए खाएको तथा कसुरमा संलग्नता रहेको देखिने कुनै पनि तथ्य उल्लेख गरेको अवस्था पनि नदेखिएकोले निजलाई थुनामा नै राखि अनुसन्धान हुनु पर्नेसम्मको अवस्था नदेखिँदा निज विनिता खड्कालाई थुनामा नराखि अनुसन्धान हुनु पर्ने देखिएकोले निजको हकमा थुनामा राखि अनुसन्धान गर्नेगरी म्याद थप गर्न मिलेन।’

प्रतिक्रिया