अपहरणको संकेतपछि जर्मनीबाट दिल्ली आउँदै गरेको विमान जयपुरमा अवतरण

अपहरणको संकेतपछि जर्मनीबाट दिल्ली आउँदै गरेको विमान जयपुरमा अवतरण


काठमाडौं । जर्मनीको फ्र्यांकफर्टबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान अपहरणको आशंकासम्बन्धी सुरक्षा सतर्कतापछि बुधबार जयपुरमा डाइभर्ट गरिएको छ ।

एआई२०३० उडान नम्बरको उक्त विमान बिहान स्थानीय समयअनुसार ९ः३५ बजे जयपुर अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो । विमानमा सवार सबै ३०६ यात्रु सुरक्षित रहेको बताइएको छ ।

अहमदाबादको एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले विमान अपहरण हुन सक्ने आशंकासम्बन्धी सूचना पाएपछि विमानलाई जयपुरतर्फ मोडिएको थियो । विमान अवतरणपछि सुरक्षा जाँचका लागि छुट्टै सुरक्षित क्षेत्रमा राखिएको थियो ।

पाइलटले केही सेकेन्डका लागि ‘स्क्वाक ७५००’ कोड पठाएको बताइएको छ । यो विमान अपहरण वा विमानमाथि गैरकानुनी हस्तक्षेप भएको अवस्थामा एयर ट्राफिक कन्ट्रोललाई गोप्य रूपमा संकेत दिन प्रयोग गरिने अन्तर्राष्ट्रिय रूपमा मान्य उड्डयन ट्रान्सपोन्डर कोड हो ।

प्रारम्भिक संकेतले पाइलटले गल्तीवश उक्त संकेत पठाएको हुन सक्ने देखाएको विमानस्थल प्रमुख चरण सिंहले बताएका छन् । यद्यपि, संकेत पठाइनुको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

प्रारम्भिक संकेतले पाइलटले गल्तीवश उक्त कोड पठाएको हुन सक्ने देखाए पनि अधिकारीहरूले घटनाको वास्तविक कारण पुष्टि गरिसकेका छैनन् । घटनाबारे अनुसन्धान जारी छ ।