रास्वपा अनुशासन आयोगले सांसद खगेन्द्र सुनारमाथि छानबिन तीव्र पार्‍यो

रास्वपा अनुशासन आयोगले सांसद खगेन्द्र सुनारमाथि छानबिन तीव्र पार्‍यो

सांसद सुनारले भने– ‘अडियो मेरो होइन, एआईबाट बनेको हो’


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले सांसद खगेन्द्र सुनारमाथि महिला हिंसा, ज्यान मार्ने धम्की र बालबालिकासम्बन्धी तीन विषयमा छानबिन तीव्र पारेको छ। आयोगका सदस्यहरूले यी विषय जोडिएकाले घटनालाई गम्भीर र संवेदनशील रूपमा हेरिएको बताए।

‘महिला हिंसा, ज्यान मार्ने धम्की र बालबालिका सम्बन्धी विषय पनि जोडिएको भएर यो घटनालाई अति संवेदनशील रूपमा राखेका छौँ। अब यतिकै छोड्न मिलेन,’ एक सदस्यले भने।

सांसद सुनारले एक महिलालाई अश्लील शब्दमा गालीगलौज गरेको अडियो सोमबार सार्वजनिक भएपछि पार्टीले मंगलबार आयोगलाई छानबिनको निर्देशन दिएको थियो। आयोगले तुरुन्तै काम थालेको प्रमुख लेखनाथ पौडेलले जानकारी दिए।

आयोगले सुनारलाई २४ घण्टाभित्र लिखित जवाफ मागेको थियो। उनले बुधबार प्रतिक्रिया पठाएका छन्। अब बैठक बसेर प्रतिक्रिया सन्तोषजनक छ कि छैन हेरिने सदस्यहरूले बताए।

सुनारले अडियो एआईबाट बनेको दाबी गरे पनि आयोगका सदस्यहरूले स्वर उनीकै भएको र घटना भएकै हो भन्ने निचोडमा पुगेका छन्। ‘उहाँको स्वरमा शंका छैन,’ एक सदस्यले भने।

आयोगकी सदस्य सुशीला सिम्खडाले छानबिन जारी रहेको बताइन्। उपप्रमुख हरिचन्द्र भट्टराईले प्रमाण विश्लेषण गर्ने र आवश्यक परे मूल अडियो/भिडियो मगाएर विश्वसनीयता परीक्षण गर्ने बताए।

रास्वपाका महामन्त्री विपिन आचार्यले सुनारलाई सार्वजनिक कार्यक्रममा जान रोक लगाएका छन्। संसदीय दलले गम्भीर छानबिनको सुझाव दिएको छ भने राइट टु रिकलको आवाज पनि उठिरहेको छ।