काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता मोहम्मद अफताब आलमका छोरा मो. फिरदोस आलम पार्टीको सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उनी मधेशी क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । कांग्रेसले आधिकारिक फेसबुक पेजमार्फत फिरदोसलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छ ।
फिरदोस २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशबाट कांग्रेसका तर्फबाट निर्वाचित हुने एक्ला सांसद हुन् । उनी रौतहट–२ बाट २९ हजार ५२८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत पाएका थिए ।
फिरदोसका पिता अफताब आलम रौतहटबाट पटक–पटक निर्वाचित भएका थिए । उनी २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोट र त्यसपछि भएको भनिएको हत्याकाण्डको घटनाका कारण चर्चामा आएका थिए ।
उक्त प्रकरणमा रौतहट जिल्ला अदालतले २०८१ वैशाखमा आलमलाई जन्मकैदको सजाय सुनाएको थियो । तर, २०८२ जेठमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले पर्याप्त प्रमाण नभएको ठहर गर्दै उनलाई सफाइ दिएको थियो ।
सफाइ पाएपछि जेलमुक्त भएका आलमको २०८२ कात्तिक २१ गते उपचारका क्रममा काठमाडौंमा ६३ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया