काठमाडौँबाट खोटाङ जाँदै गरेको जिप सुनकोशीमा खस्दा ३ जनाको मृत्यु

काठमाडौँबाट खोटाङ जाँदै गरेको जिप सुनकोशीमा खस्दा ३ जनाको मृत्यु


काठमाडौँ । सिन्धुलीको फिक्कल–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप करिब २ सय मिटर तल सुनकोशी नदीमा खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् ।

आज बिहान करिब २ः३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जिप सडकबाट करिब २ सय मिटर तल सुनकोशी नदीमा खसेर दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनास्थलमा तीन महिलाको शव फेला परेको थियो ।

दुर्घटनामा घाइते भएका चालकसहित चार जनालाई उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा पठाइएको छ । दुर्घटनामा चालक, ओखलढुंगाका २९ वर्षीय आशीष बिष्ट, खोटाङ, दिक्तेल नगरपालिका–३ का ३८ वर्षीया सम्झना राई, १२ वर्षीया छोरी सिवानी, दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक घाइते भएका छन् । घाइते चारै जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।