काठमाडौँ । सिन्धुपाल्चोकको तातोपानी नाका तीन दिनका लागि सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कात्तिक १ देखि ३ गतेसम्मका लागि नाका खोलिएको हो ।
मन्त्रालयले जारी गरेको प्रेस नोटअनुसार उक्त नाकाबाट मालवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ ।
तर, नेपाल हिमालय सीमापार वाणिज्य संघले चाडपर्व लक्षित व्यापार प्रभावित भएको भन्दै तातोपानी–खासा नाका नियमित सञ्चालन गर्न माग गरेको छ ।संघका महासचिव रामचन्द्र पराजुलीले तीन दिनका लागि मात्र नभई नाका नियमित सञ्चालन गर्न माग गरिएको बताए । यसका लागि नेपालस्थित चिनियाँ दूतावासलाई ध्यानाकर्षणपत्र बुझाइएको उनले जानकारी दिए ।
नाका बन्द हुँदा चीनबाट सामान ल्याउन प्रतीक्षामा रहेका कन्टेनर नेपाल र चीन दुवैतर्फ रोकिएको पराजुलीले बताए । उनका अनुसार दशैँ र तिहार लक्षित सामान बोकेका सयौँ कन्टेनर सीमामा रोकिएका छन् । तीमध्ये नाशवान् वस्तु, कृषि उत्पादन र मौसमी व्यापारिक सामग्रीसमेत रहेकाले सामान बिग्रने जोखिम बढेको छ । यसबाट साना व्यापारीलाई आर्थिक क्षति पुग्नुका साथै नेपाली बजारमा वस्तुको अभाव हुन सक्ने संघको भनाइ छ ।
हालैका प्राकृतिक विपद्का कारण अन्य स्थलमार्गमा अवरोध र क्षति पुगेको अवस्थामा तातोपानी नाका सीमापार व्यापारका लागि व्यावहारिक तथा प्रभावकारी मार्ग रहेको संघले जनाएको छ । नेपाली पक्षका सम्बन्धित सडक निकाय र स्थानीय सरोकारवालाले सडकका अवरोध हटाएर सुरक्षित आवागमन पुनःस्थापना गरिसकेको पराजुलीले बताए । उनका अनुसार भन्सार जाँचपास र सवारीसाधन आवागमनका लागि सडक सञ्चालनयोग्य रहेकाले नाका नियमित सञ्चालन गर्न आवश्यक छ ।
चिनियाँ पक्षले गत भदौ १५ देखि अर्को सूचना जारी नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो । भदौ १० मा भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा क्षति पुर्याएपछि चिनियाँ पक्षले तातोपानी नाका पनि बन्द गरेको थियो ।

प्रतिक्रिया