सुर्खेत । डोल्पाको विकट बस्तीमा गर्भावस्थामा साल अड्किएर जटिल अवस्थामा पुगेकी एक महिलालाई उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको छ । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोकी २८ वर्षीया पेम्मा आङमो गुरुङको अवस्था जटिल बनेपछि उनलाई तत्काल उद्धार गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पेम्मालाई आज उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको हो । उपल्लो डोल्पामा भौगोलिक विकटता र यातायातको सहज पहुँच नहुँदा बिरामीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउन कठिन हुने गरेको छ । उपल्लो डोल्पाका बस्तीबाट जिल्ला सदरमुकाम दुनैसम्म समेत सडक सञ्जाल जोडिएको छैन ।
शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिका रहेको उपल्लो डोल्पामा पर्याप्त स्वास्थ्य उपचार सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टरमार्फत जिल्ला बाहिर लैजानुपर्ने बाध्यता छ । विशेषगरी गर्भवती तथा सुत्केरी महिलामा जटिल स्वास्थ्य समस्या देखिँदा समयमै उपचार नपाए आमा र शिशु दुवैको ज्यान जोखिममा पर्न सक्छ । सडक सञ्जालको अभाव, स्वास्थ्य संस्थामा पर्याप्त सुविधा नहुनु र आपत्कालीन उद्धारमा निर्भर रहनुपर्ने अवस्थाले दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच चुनौतीपूर्ण बनेको छ ।

प्रतिक्रिया