ट्रम्पको दाबी– ‘पेरिस चाँडै मुस्लिम सहर बन्नेछ’, फ्रान्सको अध्यागमन नीतिमाथि प्रश्न

ट्रम्पको दाबी– ‘पेरिस चाँडै मुस्लिम सहर बन्नेछ’, फ्रान्सको अध्यागमन नीतिमाथि प्रश्न


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको अध्यागमन नीतिको आलोचना गर्दै पेरिस चाँडै मुस्लिम सहर बन्ने दाबी गरेका छन्। उनले फ्रान्समा जारी हिंसात्मक घटनाका लागि राष्ट्रपति इमानुएल म्याक्रोंको अध्यागमन नीतिलाई जिम्मेवार ठहराएका छन्। ट्रम्पले अन्य देशबाट ठूलो सङ्ख्यामा मानिसलाई फ्रान्स प्रवेश गर्न दिने नीतिबारे आफूले करिब आठ वर्षअघि नै म्याक्रोंलाई चेतावनी दिएको बताएका छन्। तर, फ्रान्सेली सरकारले अध्यागमन नियन्त्रणका लागि आवश्यक कदम नचालेको उनको आरोप छ।

प्यू रिसर्च सेन्टरका अनुसार फ्रान्सको जनसङ्ख्यामा मुस्लिम समुदायको हिस्सा करिब ९ प्रतिशत छ। इसाई धर्म मान्ने र कुनै पनि धर्ममा आबद्ध नरहेका मानिसको हिस्सा भने क्रमशः करिब ४६ र ४३ प्रतिशत रहेको छ। यद्यपि, फ्रान्समा धर्मसम्बन्धी तथ्याङ्क नियमित जनगणनामार्फत सङ्कलन नहुने भएकाले विभिन्न अध्ययनमा तथ्याङ्क फरक पर्न सक्छ। फ्रान्समा देखिएको हिंसालाई अध्यागमनसँग मात्र जोड्न नहुने विज्ञहरूको भनाइ छ। महँगी, आर्थिक समस्या, सरकारी सेवामाथिको दबाब र युवाहरूको असन्तुष्टिलगायत विषयले पनि सामाजिक तनाव बढाउन सक्ने उनीहरूको विश्लेषण छ।

यसैबीच, फ्रान्सका विभिन्न सहरमा अक्टोबर १७ मा भएका प्रदर्शनका क्रममा हिंसा र तोडफोड भएको विवरण सार्वजनिक भएको छ। घटनापछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको र हिंसामा संलग्नमाथि कारबाही गर्ने जनाएको छ। राष्ट्रपति म्याक्रोंले शान्तिपूर्ण प्रदर्शनका मागलाई हिंसा र लुटपाटसँग जोड्न नहुने बताउँदै तोडफोडमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

महँगी, कमजोर अर्थतन्त्र र बढ्दो सरकारी ऋणका कारण म्याक्रों सरकारमाथि दबाब बढिरहेका बेला ट्रम्पको अभिव्यक्तिले फ्रान्सको अध्यागमन र सामाजिक एकीकरणसम्बन्धी बहसलाई थप चर्काउने देखिएको छ।