शान्वीले प्राप्त गरेको उपाधिले मिथिलामा खुशीयाली

शान्वीले प्राप्त गरेको उपाधिले मिथिलामा खुशीयाली


जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १८ भोइलकी शान्वी मण्डलको चर्चा अहिले विश्वभर भइरहेको छ । थाइल्यान्डको ब्याङ्ककमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा शान्वीले मिस वेलनेस वल्र्ड २०२६ को उपाधि जितेपछि उनको चर्चा भएको हो ।

अन्य क्षेत्रहरुमा नेपालीले आफ्नो नाम विश्वसामू चिनाइरहेका बेला शान्वीले नेपाल र नेपालीको नामलाई थप उचाइमा पुर्याएकी हुन् । उनले पाएको उपाधीका कारण सम्पूर्ण जनकपुरवासी खुसीका साथै गर्व महसुस गरेका छन् ।

जनकपरधामकी छोरीले सम्पूर्ण मिथिलाको नाम विश्वसामु चिनाएको भन्दै उनीमाथि थप जिम्मेवारी पनि थपिएको बताउँछन् जजनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का स्थानीयवासी एवम वरिष्ठ पत्रकार श्यामसुन्दर शशि ।

‘यहाँका चेलीबेटी पढ्नु हुँदैन र पढे भने पनि डाक्टर, इन्जिनयरमात्र बन्नुपर्छ भन्ने धारणा रहेको समाजको दृष्टिकोणलाई चिर्दै फरक विधामा शान्वीले विश्व विजेता बन्नु मिथिलावासीका लागि गौरवको कुरा हो,’ शशिले भने ।

मध्यमस्तरको परिवारमा जन्मेकी शान्वीले नयाँ क्षेत्रमा उपाधी पाउनु कुनै क्रान्ति भन्दा कम नभएको वरिष्ठ पत्रकार शशिको भनाई छ । उनले सही शिक्षा र स्वतन्त्रता दिनसके यस समाजबाट थुप्रै शान्वी जस्तै छोरीहरु विश्वस्तरमा मिथिला र नेपालकै नाम अगाडि बढाउन सक्ने बताए ।

यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ की नितु कुमारी कर्ण भन्छिन्, ‘मिथिलाकी नारी अन्तर्राष्ट्रिय स्तरमा उपाधि जित्नुले सम्पुर्ण मिथिलावासीलाई गर्व तुल्याएको छ ।’

नेपाली समाजमा छोरी मान्छेहरुको मन भित्र अझैपनि डर कायम रहेको बेलामा शान्वीले यो उपाधि जित्नु सबै छोरीहरुका लागि प्रेरणाको स्रोत बनेको कर्णको भनाई छ । मिथिलाकी नारी हरेक क्षेत्रमा अगाडि बढ्न सक्छ भन्ने सन्देश संसारमाझ गएको कर्ण बताउँछिन् ।

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका ६ का सुरज प्रसाद साहका अनुसार शान्वीको जितले थप दायित्व थपेको छ । साहका अनुसार अब शान्वीले विश्वस्तरमा मिथिला र मिथिलाको परम्परालाई पनि देखाउनुका साथै यस क्षेत्रका छोरी–चेलीहरुलाई बाटो देखाउनुपर्छ । शान्वीले पाएको उपाधिले एउटा सानो गाउँकी छोरीमा पनि विश्व स्तरमा पहिचान बनाउन सक्ने सन्देश दिएको साह बताउँछन ।

शान्वी मण्डललाई बधाई तथा शुभकामना व्यस्त गर्न मधेश प्रदेशका सभामुख रामअशिष यादवदेखि विभिन्न सांसद, मेयर, उपमेयरहरु घरमै पुगिरहेका छन् ।