गोरखा ।
बाढी र पहिरोका कारण अवरुद्ध बनेको उत्तरी गोरखाको प्रसिद्ध चुमभ्याली जाने पदमार्ग मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको छ। आगामी केही दिनभित्रै पदमार्ग सञ्चालनमा ल्याउने गरी मर्मतको काम अघि बढाइएको हो।
चुमनुव्री गाउँपालिका–६ स्थित सर्दिभिरमा बूढीगण्डकी र स्यार खोलामाथि रहेको क्यान्टिलिभर पुल बाढीले बगाएपछि चुम्चेत र छेकम्पार क्षेत्रको आवतजावत पूर्ण रूपमा ठप्प भएको थियो। सम्पर्क टुटेको सोही स्थानमा अहिले काठेपुल निर्माण गरेर तत्कालका लागि पदमार्ग खुलाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए।
‘बूढीगण्डकी र स्यार खोलाको दोभानमा रहेको क्यान्टिलिभर पुल बाढीले बगाएपछि आउजाउ रोकिएको छ,’ अध्यक्ष लामाले विकासटाइम्ससँग भने, ‘अहिले तत्कालका लागि आउजाउ सहज बनाउन काठेपुल राख्ने काम भइरहेको छ।’
अध्यक्ष लामाका अनुसार त्यस क्षेत्रमा कुल चारवटा काठेपुल राखिनेछ। आवश्यक स्थानहरूमा पदमार्ग मर्मतको काम सकिइसकेको र काठेपुल बनेलगत्तै छेकम्पारसम्मको पदमार्ग खुल्नेछ। यो पदमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै करिब १० दिन लाग्ने अनुमान गरिएको छ।
यद्यपि, काठेपुलले समस्याको दीर्घकालीन समाधान भने नहुने गाउँपालिकाले जनाएको छ। ‘वर्षायाम सुरु भएपछि यो काठेपुल पनि बगाउने जोखिम रहन्छ, आपत्कालीन अवस्थाका लागि मात्रै यो अस्थायी विकल्प रोजेका हौं,’ अध्यक्ष लामाले स्पष्ट पारे।
दीर्घकालीन समाधानका लागि सो क्षेत्रमा पुनः नयाँ क्यान्टिलिभर पुल निर्माण गर्नुपर्ने वा चट्टान ब्लास्टिङ गरेर नयाँ ट्र्याक खोल्नुपर्ने गाउँपालिकाको भनाइ छ। हाल गाउँपालिकाकै आन्तरिक स्रोत र खर्चबाट पदमार्ग खुलाउने कार्य भइरहेको छ।

प्रतिक्रिया