काठमाडौं । दयाहाङ राईको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ लाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले सुपरहिट घोषणा गरेको छ ।
प्रदर्शनको तीन दिनमै क्यूएफएक्सले फिल्मलाई सुपरहिट घोषणा गरेको हो ।
क्यूएफएक्सको आधिकारिक वेबसाइटमा फिल्मलाई सुपरहिट उल्लेख गरिएको छ । क्यूएफएक्सले पहिलो सातामा आफ्ना हलबाट १ करोड ५० लाख रुपैयाँ र दुई सातामा २ करोड ५० लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्ने फिल्मलाई सुपरहिट घोषणा गर्ने गरेको छ । यस आधारमा ‘कबड्डी ५’ ले क्यूएफएक्सका हलमा मात्रै डेढ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको देखिन्छ ।
यसअघि सफल फिल्मको शृंखला भएकाले ‘कबड्डी ५’ को अग्रिम बुकिङमै दर्शकको आकर्षण देखिएको थियो । दसैँको अवसरमा तीन नेपाली फिल्म प्रदर्शनमा आए पनि यस फिल्मले देशभर करिब २४० शो पाएको थियो । शुक्रबारदेखि नै दर्शकको राम्रो साथ पाएको फिल्मका शो शनिबार पनि हाउसफुल भएका थिए । आइतबार पनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ र माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी छ ।

प्रतिक्रिया