ताप्लेजुङ । समुद्री सतहदेखि करिब ४ हजार ५०० मिटरको उचाइमा अवस्थित प्राकृतिक तथा जैविक सौन्दर्यले भरिपूर्ण ‘सोना पोखरी’ (सुन पोखरी) प्रचारप्रसार, पूर्वाधार र सरकारी चासोको अभावमा गुमनाम बनेको छ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित लोदेन क्षेत्रमा पर्ने यो पोखरी सम्भावनायुक्त भए पनि हालसम्म ओझेलमा परेको हो।
स्थानीय जनविश्वास अनुसार, धेरै पहिले चीनबाट आएका एक लामाले पोखरीमा सुनको हाँस तैरिरहेको देखेपछि त्यसलाई समात्न पोखरीभित्र पसेका थिए। तर, उनी पोखरीबाट बाहिर निस्कन सकेनन् र त्यहीँ अलप भए। यही किंवदन्तीका आधारमा यसको नाम ‘सोना पोखरी’ रहन गएको स्थानीय पाकापुस्ताको भनाइ छ। जिल्लाका चर्चित तिम्बुङ पोखरी, सोदु पोखरी र सिङ्जेमा तालको तुलनामा सोना पोखरीको प्राकृतिक बनावट र सौन्दर्य कम नभए पनि राज्यको ध्यान नपुग्दा पर्यटन प्रवर्द्धन हुन नसकेको मिक्वाखोला–५ का पान्दे शेर्पा बताउँछन्। पोखरीको वास्तविक लम्बाइ, चौडाइ, गहिराइ लगायतका विषयमा कुनै वैज्ञानिक नापजाँच वा भौगर्भिक अध्ययन समेत हुन सकेको छैन।
यस पोखरीसम्म पुग्न व्यवस्थित पदमार्ग निर्माण भएको छैन। स्थानीय गोठालाहरूले प्रयोग गर्ने गोरेटो, याक तथा भेडीगोठहरू छिचोल्दै कष्टकर यात्रा पार गर्नुपर्ने बाध्यता छ। सदरमुकाम फुङ्लिङबाट सवारीसाधनमार्फत सिम्बुकसम्म पुगेपछि पैदल यात्रा सुरु हुन्छ। सिम्बुकबाट एक दिनको हिँडाइपछि ‘ढड्ने’ पुगेर बास बस्ने र भोलिपल्ट बिहानै सोना पोखरी पुग्न सकिन्छ। सिम्बुकदेखि ढड्नेसम्मको मार्गमा स्थानीयले दिवंगत आफन्तको सम्झनामा पाटीपौवा निर्माण गरी बटुवाका लागि ओढ्ने–ओछ्याउने र भाँडाकुँडाको प्रबन्ध समेत मिलाएका छन्। पर्यटकीय सम्भावनासँगै उच्च हिमाली क्षेत्रका यस्ता पोखरीहरू तल्लो तटीय क्षेत्रका लागि पानीका मुख्य मुहान समेत भएकाले पूर्वाधार विकास, प्रचारप्रसार र संरक्षणका लागि तीनै तहका सरकारले तत्काल कदम चाल्नुपर्ने माग स्थानीयको छ।

प्रतिक्रिया