एनपीएल नेपाली प्रतिभा र राष्ट्रिय एकताको सङ्गम हो – कानुनमन्त्री गौतम

एनपीएल नेपाली प्रतिभा र राष्ट्रिय एकताको सङ्गम हो – कानुनमन्त्री गौतम


काठमाडौं । कानुनमन्त्री सोबिता गौतमले नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर सङ्गम भएको बताएकी छन् ।

सोमबारदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको उत्साहलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले प्रतियोगिताले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी हुन् ।

नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभालाई विश्वस्तरीय खेलाडीसँग एउटै मैदानमा उभ्याउने मञ्चका रूपमा एनपीएलले हजारौँ युवाको आत्मविश्वास बढाउनुका साथै उनीहरूका सपनालाई नयाँ उडान दिने गौतमको भनाइ छ ।

सरकारले उचित वातावरण सिर्जना गरिदिए निजी क्षेत्रले सम्भावनालाई उद्योगमा, प्रतिभालाई अवसरमा र खेललाई राष्ट्रिय उत्सवमा बदल्न सक्छ भन्ने उदाहरण एनपीएल बनेको उनले उल्लेख गरेकी छन् ।

एनपीएलको तेस्रो संस्करणका अवसरमा उनले सबै टोली, खेलाडी, आयोजक तथा प्रतियोगितासँग जोडिएका सम्पूर्णलाई शुभकामना दिएकी छन् ।

“मैदानमा जुनसुकै टिमले जितोस्, अन्ततः जित नेपाली क्रिकेटकै हुनेछ,” उनले भनेकी छन् ।