मुम्बई । बलिउड अभिनेता टाइगर श्राफमाथि भएको गोली प्रहारको अनुसन्धानमा नयाँ तथ्य सार्वजनिक भएका छन् । भारतीय प्रहरीको अनुसन्धानअनुसार कुख्यात लरेन्स बिश्नोई गिरोहले टाइगरअघि अभिनेता आमिर खानलाई समेत निशाना बनाउने योजना बनाएको खुलेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार सुटरहरूले मुम्बईको बान्द्रास्थित आमिर खानको घर वरपर कम्तीमा तीनपटक निगरानी गरेका थिए । उनीहरू घरनजिकैको लजमा बसेर आमिरको गतिविधि नियालिरहेका थिए । तर, आमिरको नियमित तालिका पत्ता लगाउन नसकेपछि उनीहरूले आक्रमणको योजना अघि बढाउन सकेनन् । अनुसन्धानमा आमिरलाई सामाजिक सञ्जालमार्फत दिइएको धम्की र पछिल्लो घटनाबीच सम्बन्ध हुन सक्ने कोणबाट समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
आमिरसम्म पुग्न नसकेपछि सुटरहरूले टाइगर श्राफलाई निशाना बनाएको प्रहरीको अनुसन्धानमा खुलेको समाचारमा उल्लेख छ । टाइगरको नियमित दिनचर्याका कारण उनको गतिविधि पत्ता लगाउन सजिलो भएको बताइएको छ । प्रहरीका अनुसार गत सेप्टेम्बर २० मा हरियाणाबाट दुई सुटर मुम्बई पुगेका थिए । उनीहरूले आमिरको घर वरपर निगरानी गरेका थिए । आमिरलाई भेट्न नसकेपछि सेप्टेम्बरको अन्त्यतिर उनीहरूले अमेरिकामा रहेका अनिल पण्डितसँग सम्पर्क गरेको र त्यसपछि टाइगरलाई निशाना बनाउने निर्णय भएको अनुसन्धानमा खुलेको जनाइएको छ ।
घटनामा टर्कीमा बनेको जिगाना पेस्तोल र अर्को एक पेस्तोल प्रयोग भएको बताइएको छ । गोली प्रहारका क्रममा एउटा पेस्तोलमा समस्या आएपछि टाइगरको गाडीको साइड झ्यालमा गोली चल्न नसकेको समाचारमा उल्लेख छ । यस प्रकरणमा दिल्ली प्रहरीको स्पेसल सेलले दुई युवतीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुणाल, सुमित, राधा र बबिता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राधा र बबिताले रेलमार्फत हतियार मुम्बई पुर्याएको आरोप छ ।
प्रहरीले घटनासँग सम्बन्धित दादरस्थित रोयल रेस्ट हाउस सिल गरी सीसीटीभी फुटेज, पाहुना विवरण र परिचयपत्र नियन्त्रणमा लिएको जनाइएको छ । घटनामा संलग्न रहेको आरोपमा हालसम्म ११ जना पक्राउ परेको समाचारमा उल्लेख छ । प्रहरीको अनुसन्धान जारी रहेकाले घटनामा संलग्न व्यक्तिहरूको भूमिका र आमिर खानलाई निशाना बनाउने योजनाबारे थप विवरण आउन बाँकी छ । एजेन्सीहरु

प्रतिक्रिया