एनपीएलमा आज विराटनगर–चितवन र कर्णाली–जनकपुरबीच प्रतिस्पर्धा हुँदै

एनपीएलमा आज विराटनगर–चितवन र कर्णाली–जनकपुरबीच प्रतिस्पर्धा हुँदै


काठमाडौं

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दुई रोमाञ्चक खेलहरू हुँदैछन्। प्रतियोगिताको पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल केही समयको अन्तरालमा हुनेछ।

 विराटनगर किंग्स विरुद्ध चितवन राइनोज 

दिनको पहिलो तथा निकै प्रतिस्पर्धात्मक मानिएको यस खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने विराटनगर लिगमा विजयी सुरुआत गर्ने दाउमा छ।

यता, कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज पनि जितका साथ अघि बढ्न चाहन्छ। यस खेलको अर्को मुख्य आकर्षण भनेको यसअघिका दुई सिजन खेलाडीका रूपमा मैदान उत्रिएका पाकिस्तानका तीव्र गतिका बलर सोहेल तनवीर यसपटक चितवनको मुख्य प्रशिक्षकका रूपमा रहनु हो।

कर्णाली याक्स विरुद्ध जनकपुर बोल्ट्स

आजै हुने दोस्रो खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दैछन्। पहिलो संस्करणको च्याम्पियन जनकपुर यो पटक पनि सुरुआतदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो लय कायम राख्न चाहन्छ भने कर्णाली बलियो टिम जनकपुरलाई पराजित गर्दै सुखद सुरुआत गर्ने योजनामा मैदान उत्रनेछ।