नेपालमा कागजी नोट छापिन थालेको ७८ वर्ष पूरा भएको छ । २००२ साल असोज १ गते नेपालमा पहिलो पटक कागजी नोट प्रचलनमा आएको थियो ।
सदर मुलुकी खानाबाट खजाञ्ची जनकराज (पण्डित) को हस्ताक्षर भएको ५, १० र १०० रुपैयाँ दरका नोटहरू निस्कासित भएका थिए । तर, थोरैलाई मात्र थाहा होला त्यतिबेला खजाञ्चीका रूपमा भरतराज पण्डित पदासीन थिए ।
राजगुरु खलकबाट नै सदर मुलुकी खानाको खजाञ्ची नियुक्ति गरिने हुँदा १९९० सालमा यसको गठनको समय पण्डित जनकराज पाण्डेलाई सदर मुलुकी खानाको खजाञ्ची नियुक्त गरिएको थियो । उनकै समयमा कागजी नोट निकाल्ने तयारी हुँदै थियो । तर, बीचैमा मूल राजपुरोहित बन्न नपाएको हुँदा उनले १९९७ सालमा राजीनामा दिए ।
तर, उनको समयमा नै नेपालमा कागजी नोट छाप्ने विषयमा तयारी हुँदै थियो । यसर्थ उनकै सम्मानमा उनकै हस्ताक्षरमा २००२ असोज १ गते ५ रुपैयाँ दरका २ लाख थान, ५ रुपैयाँ दरका क ०००००१ देखि क २००००० सम्म, १० रुपैयाँ दरका १ लाख थान क ०००००१ देखि क १००००० सम्म र १०० रुपैयाँ दरका ५ हजार थान क ०००००१ देखि क ००५००० सम्म नोट निष्कासन भएको थियो ।
जनकराजकै हस्ताक्षरित अन्य शृंखलाका नोटहरू त्यसपछि विभिन्न मितिमा निष्कासन भएका थिए । जसअनुसार ५ रुपैयाँका जम्मा ६ लाख ६० हजार, १० रुपैयाँको ३ लाख २० हजार र १०० रुपैयाँको ४५ हजार थान नोट निष्कासन भएको थियो ।
२००४ सालपछि खजाञ्जी भरतराजको हस्ताक्षरमा ५, १० र १०० रुपैयाँका नोटहरू निस्कासित भए भने २००९ सालबाट नरेन्द्रराजको हस्ताक्षरमा १, ५, १० र १०० रुपैयाँका नोटहरू निस्कासित भए । यी सबै नोटहरू भारतको नासिकस्थित इन्डिया सेक्युरिटी प्रेसमा छापिएका थिए ।
नासिकमा रहेको इन्डिया सेक्युरिटी प्रेसले कागजी नोटहरू छापेबापत ५ रुपैयाँका १ हजार थानको १२ रुपैयाँ ८ पैसा, १० का १ हजार थानको १७ रुपैयाँ ८ पैसा र १०० रुपैयाँका १ हजार थानको ४५ रुपैयाँ लिएको थियो ।
हुन त धेरैलाई थाहा नहुन सक्छ, विश्वमा कागजी नोटहरूको प्रचलन हुन थालेको हुँदा तत्कालीन समयमा श्री ३ जुद्ध शम्शेरले कागजी नोट छाप्ने निर्णय गरेका थिएनन् । चाँदीको सिक्काको बदलामा ठुलो रकमको समेत गरेर कागजी नोट निकाल्नुको खास कारण त्यस समयमा चाँदीको मूल्य एक्कासि बढ्नु थियो ।
विश्वले दोस्राे विश्वयुद्धका कारणले आर्थिक मन्दी झेलिरहेको थियो । यही समय विश्व बजारमा चाँदीको कृत्रिम अभाव सिर्जना हुँदा चाँदीको मूल्य अकासिन थाल्यो । १९९९ सालको दसैँतिर प्रतिकिलो २४७ अमेरिकी डलर रहेको चाँदीको मूल्य अचानक बढ्न थाल्यो । चैतमा पुग्दा २८० डलर पुग्यो । यसरी विश्व बजारमा चाँदीको मूल्य बढेसँगै भारतीय बजारमा चाँदीको माग निकै बढ्न थाल्यो ।
नेपालमा छापिएका चाँदीका सिक्का चोरबाटो भएर भारतमा पुग्न थाले । निकै खर्च गरेर बनाइएका चाँदीका सिक्का भारतमा गालेर महंगोमा बेच्न थालियो । यसरी नेपालमा सिक्काको अभाव हुन थाल्यो ।
त्यसबेला नेपाल सरकारलाई दोहोरो समस्या पर्याे । महंगोमा चाँदी किनेर सिक्का छाप्ने कि अभावमा राख्ने । महंगोमा खरिद गरेर सिक्का छापे पनि सिक्का त भारतमा चोरी भएर जाने डर रहने नै भयो । या त सिक्काको तौल कम गरेर पातलो सिक्का छापेर बजार मूल्यभन्दा महंगो बनाउनुपर्याे । यो पनि गर्न सकिँदैनथ्यो ।
१ रुपैयाँको सिक्का १ तोलाको हुनुपर्थ्यो । जसले गर्दा महंगिँदै गएको चाँदीबाट सिक्का छाप्न कठिन हुन थालेपछि विकल्पमा भारतमा रहेका अंग्रेज भाइसरायसँग सल्लाह गरी श्री ३ जुद्ध शम्शेरले भारतमा नै कागजी नोट छाप्ने योजना बनाएका थिए ।
२००० सालको असोजमा बेलायती राजदूतमार्फत् पठाइएको पत्रमा ५० लाख रुपैयाँ बराबरको (५ को १५ लाख रुपैयाँ बराबर, रु १० को रु १५ लाख रुपैयाँ बराबर र रु १०० को २० लाख रुपैयाँ बराबर) छिट्टै छापिदिन अनुरोध गरिएको थियो ।
भारतको नासिकमा रहेकाे सेक्युरिटी प्रेसले पुससम्ममा नोटको डिजाइन बनाएर पठाइसकेकाे थियाे । तर, नेपालमा डिजाइन स्वीकृत गर्न तथा कुन खजाञ्चीको हस्ताक्षर गर्ने भन्ने निर्णय लिन ढिला हुँदा नोट बल्ल २००१ को माघमा छाप्न थालियो ।
यसरी ढिलो छापिएका नोटहरू २००२ साल भदौ ८ गते नेपाल सरकारलाई पठाइएको थियो । २००२ को भदौ ३० गते गोरखापत्रमार्फत् सर्वसाधारणलाई कागजी नोट निष्कासनको जानकारी दिइएको थियो ।
यसरी २००२ को असोज १ गते सरकारले सर्वसाधारणका लागि पहिलो पटक कागजी नोटको निष्कासन गर्न सफल भयो । यसरी निष्कासन भएका कागजी नोटहरूको छपाइ शुल्क १४ हजार ७७५ रुपैयाँ खजाञ्ची भरतराजले भारतीय सेक्युरिटी प्रिन्टिङ प्रेसलाई असोज २६ गते पठाएका थिए ।
सधैँ चाँदीको सिक्का बोकेर छनछन गर्दै हिँड्न बानी परेका नेपालीहरूले कागजका नोट सहजै स्वीकार गर्न सकेनन् । सरकारले तलबभत्ता पनि कागजी नोटबाट नै दिन थाल्यो । बिस्तारै सहर बजारमा कागजी नोट स्वीकार गर्न थाले पनि ग्रामीण इलाकामा भने कागजी नोट स्वीकार गर्न निकै समय लाग्यो ।
भारतीय सीमा नौटनवा हुँदै अन्नपूर्ण हिमाल आरोहणका लागि आएका मोरिस हर्जोग र उनको टिमले भरियाहरूलाई पैसा तिर्न भारतीय रुपैयाँको सहारा लिएका थिए । एडमन्ड हिलारीले भरियाहरूका लागि पैसा तिर्न काठमाडौँबाट नै १२ जना भरिया बराबर सिक्का बोकाएर लगेका थिए । भरियाहरूले कागजी नोट लिन अस्वीकार गर्दा सिक्काकै व्यवस्था मिलाएर एडमन्ड हिलारीको टोली सगरमाथा आरोहणका लागि गएकाे थियाे ।
प्रतिक्रिया