नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लागू

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लागू


काठमाडौ ।

नागढुङ्गा–नौबिसे सुरुङमार्ग भएर गुड्ने सवारीसाधनमाथि यही कात्तिक १५ गतेदेखि दस्तुर (टोल शुल्क) लाग्ने भएको छ। नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले आज एक सार्वजनिक सूचना जारी गर्दै सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयबमोजिम आगामी कात्तिक १५ गतेदेखि शुल्क उठाउन लागिएको जानकारी दिएको हो।

गत साउन ११ गते उद्घाटन भई हालसम्म परीक्षणका रूपमा निःशुल्क सञ्चालन हुँदै आएको यस सुरुङमार्गमा अब सवारीसाधनको आकार, क्षमता र प्रकृतिका आधारमा शुल्क संकलन गरिनेछ। सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी सुरुङमार्ग उपयोग गरेबापतको शुल्क संरचना तय गरिसकेको थियो।

तोकिएको दररेट अनुसार काठमाडौँ उपत्यका प्रवेश गर्दा र उपत्यकाबाट बाहिरिँदा (प्रस्थान गर्दा) लाग्ने शुल्क फरक–फरक निर्धारण गरिएको छ:

सवारीसाधनको वर्ग / प्रकार काठमाडौँ प्रवेश गर्दा (रु.) काठमाडौँबाट प्रस्थान गर्दा (रु.)
हलुका सवारीसाधन (कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस आदि) ६५ ६०
मध्यम सवारीसाधन (मिनीबस, मिनी टिपर/ट्रक) १२५ ८०
ठूला सवारीसाधन (बस, सिङ्गल रियर एक्सल ट्रक) २६० २००
भारी तथा मल्टिएक्सल सवारीसाधन (मल्टिएक्सल ट्रक, भारी उपकरण आदि) ६०० २५०

सुरुङमार्ग प्रयोग गर्दा नागढुङ्गा–नौबिसे खण्डको लामो जाम, उच्च इन्धन खपत तथा जोखिमपूर्ण घुम्तीहरूबाट राहत मिल्ने भए पनि नियमित आवतजावत गर्ने चालक तथा व्यवसायीहरूले अब तोकिएको शुल्क बुझाएर मात्र यात्रा गर्न पाउनेछन्।