कम्पनी नवीकरण र खारेजको म्याद पुस मसान्तसम्म थप, पुरानो कर-जरिवाना मिनाहाकाठमाडौँ — कम्पनी नवीकरण वा दर्ता खारेज गर्ने म्याद तीन महिना थपिएको छ।
अर्थ मन्त्रालयको २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार कर, शुल्क, दस्तुर तथा जरिवाना नतिरेका कम्पनीहरूलाई तिर्ने म्याद २०८३ पुस मसान्तसम्म थपिएको हो। यसअघि यो म्याद २०८३ असोज मसान्तसम्म मात्र थियो।
मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा भनिएको छ, ‘कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानूनले तोके बमोजिम म्यादभित्र विवरण पेश नगरेको, नवीकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना दाखिल नगरेको भएमा त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ को लागि कानून बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेश गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना मिनाहा हुनेछ।’
सूचनामा थप उल्लेख छ, ‘२०८३ कात्तिक ९ गतेको निर्णयबाट यो म्याद २०८३ असोज मसान्तबाट बढाई २०८३ पुस मसान्तसम्म कायम गरिएको छ।’

प्रतिक्रिया