काठमाडौं । सम्पत्ति शुद्धीकरण र करोडौँको धितोपत्र कारोबार घोटाला प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका चर्चित व्यवसायी दीपक भट्टलाई रिहा गराउन सर्वोच्च अदालतमा कडा कानुनी र राजनीतिक दाउपेच सुरु भएको छ।
भट्टलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन आज न्यायाधीश सारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलास (बेञ्च ‘क’) मा पहिलो नम्बरमै पेसी चढेको छ।
धितोपत्र काण्डमा गत चैत १९ गते पक्राउ परेका भट्टलाई जेलमुक्त गराउन उनका परिवार र बिचौलिया समूहले यसअघि पनि पटक-पटक सर्वोच्चको ढोका घच्घच्याएका थिए। यसअघि तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहितको इजलासमा दुई-दुई पटक ‘हेर्न नमिल्ने’ भएपछि फेरि बुबा चतुर्भुज भट्टको नाममा नयाँ रिट हालेर सेटिङ मिलाउन खोजिएको भन्दै तीव्र आशङ्का पैदा भएको छ।
राज्यको अर्बौँ सम्पत्ति र धितोपत्र घोटालामा जोडिएका पहुँचवाला अभियुक्तलाई सर्वोच्चले रिहा गर्छ या थुनामै राख्छ भन्नेमा चौतर्फी चासो र खबरदारी बढेको छ।

प्रतिक्रिया