काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी र देशलाई एकसाथ बलियो बनाउन अब पुरानो ढर्रा छाडेर नतिजामुखी काम गर्नुपर्ने कडा चेतावनी दिएका छन्।
सानेपामा आयोजित प्रमाणपत्र वितरण तथा शपथ ग्रहण समारोहमा बोल्दै उनले केवल दौडधुप गर्नु वा पसिना बगाउनुलाई मात्र काम भन्न नसकिने भन्दै अबको नेतृत्वले परिणाम र ठोस परिवर्तन देखाउनुपर्ने स्पष्ट पारे।
पार्टीको जिम्मेवारी पूर्ण रूपमा युवा पुस्तामा आएको दाबी गर्दै शर्माले चुनावी तीतामीठा अनुभव बिर्सेर पराजित र छुटिएका सबै पक्षलाई समेट्न आह्वान गरे।
व्यक्तिवादी राजनीति, मिडियाबाजी र सञ्जालको फेसनभन्दा माथि उठेर जलवायु परिवर्तन, जनजीविका र विपद्का मुद्दामा सरकारलाई घेर्नुपर्ने बताउँदै उनले अबको समयलाई विसङ्गति अन्त्य गर्ने ‘सामाजिक रूपान्तरणको दशक’ बनाउने सङ्कल्प दोहराएका छन्।

प्रतिक्रिया