काठमाडौं । चाडपर्व र जाडो यामको मागलाई बहाना बनाउँदै नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको थोक तथा समर्थन मूल्यमा पुनः वृद्धि गरेको छ, तर खुद्रा बजारमा भने उपभोक्ता मूल्य साविककै कायम राखिएको दाबी गरिएको छ।
डिपो र थोक बजारमा प्रति क्रेट अण्डाको मूल्य लगातार बढाइँदै लैजाँदा एकातिर दाना र औषधिको लागतले थिचिएका किसानहरू मारमा परेका छन् भने अर्कोतिर खुद्रा व्यापारी र बिचौलियाहरूले उपभोक्ताबाट आफूखुसी बढी मूल्य असुलिरहेका छन्।
संघले उपभोक्ता मूल्य प्रतिगोटा रु २५ र दुई वटाको ४५ रुपैयाँ तोकेको दाबी गरे पनि बजारमा भने उपभोक्ताले चर्को मूल्य चुकाउनु परिरहेको छ। फार्मगेट र थोक मूल्य बढाएर डिपो तथा सप्लायर्सको मुनाफा सुनिश्चित गरिए पनि खुद्रा स्तरमा सरकारी अनुगमन नहुँदा कालोबाजारी मौलाएको छ।
एकातिर उत्पादन घटेको र लागत बढेको बहाना बनाउने अनि अर्कोतिर खुद्रा मूल्य र थोक मूल्यको अन्तरमा बिचौलियाले लुट मच्चाउने शैलीले गर्दा बजार प्रशासन र वाणिज्य विभागको लाचारीमाथि गम्भीर प्रश्न उठेको छ।

प्रतिक्रिया