काठमाडौं । भोटेकोशी करिडोरमा आएको बाढीपहिरोबाट प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धार गर्ने क्रममा ३७ वटा शव फेला परेका छन् । नेपाली सेनाले विपद्को ११औँ दिन एक चिनियाँ नागरिकलाई भने जीवितै उद्धार गर्न सफल भएको छ ।
नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा सुरुङभित्रको उद्धार कार्यबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।
उनका अनुसार ९.७ किलोमिटर लामो सुरुङभित्र खोज तथा उद्धार गर्नु निकै चुनौतीपूर्ण थियो । सुरुङका अधिकांश प्रवेश मार्ग अवरुद्ध थिए । प्रारम्भिक रेकीका क्रममा उद्धार टोलीले भित्र प्रवेश गर्न सकिने दुईवटा स्थान मात्रै फेला पारेको थियो ।
नेपाली सेना, चिनियाँ र कोरियन टोलीले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरेका थिए । पावरहाउस क्षेत्रमा कार्यरत १२० देखि १३० जनामध्ये ११० जनालाई ४८ घण्टाभित्र हेलिकप्टरमार्फत उद्धार गरिएको थापाले जानकारी दिए ।
डिसेन्डर बेसिन क्षेत्रमा हेलिकप्टर अवतरण गर्न नसकिने भएकाले उद्धार टोली जोखिम मोलेर सुरुङभित्र प्रवेश गरेको थियो । अत्यधिक हिलो, साँघुरो बाटो र अक्सिजनको कमीका कारण उद्धार कार्य कठिन बनेको थियो । कतिपय स्थानमा कम्प्रेसर मेसिनको सहायताले अवरोध हटाएर टोली अघि बढेको थियो ।
थापाका अनुसार सुरुङको माथिल्लो भागमा ढलानको काम भइरहेको स्थानबाट ११औँ दिन एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको थियो । अडिट–३ बाट अस्ट्रेलियन उद्धार टोलीको ड्रोन प्रयोग गरी सुरुङभित्र करिब एक हजार ७०० मिटरसम्मको अवस्था अध्ययन गरिएको थियो । त्यस क्रममा हेडवर्क क्षेत्रमा ठूला मेसिन, मिक्सर, एक्स्काभेटर र ट्रकहरू थुप्रिएको अवस्थामा भेटिएका थिए । सोही क्षेत्रमा ३७ वटा शव फेला परेका हुन् ।
जीवित उद्धार गरिएका चिनियाँ नागरिकले सुरुङभित्र हेलमेटमा पानी जम्मा गरेर पिउने र हिँडेर समय बिताएको प्रारम्भिक जानकारी दिएको थापाले बताए । उद्धार गर्दा उनको स्वास्थ्य अवस्था निकै राम्रो रहेको उनले जानकारी दिए ।
सुरुङको करिब चार किलोमिटर क्षेत्रमा २१ फिट अग्लो सुरुङमा १७ फिटसम्म पानी र लेदो जमेको छ । हेडवर्कबाट अडिट–३ हुँदै करिब १.७ किलोमिटरसम्म पुग्न सकिए पनि त्यसपछिको क्षेत्रमा प्रवेश गर्न सकिने अवस्था नरहेको थापाले बताए ।
अडिट–१ क्षेत्रबाट पानी निकाल्ने विकल्पबारे आयोजना र इन्जिनियरिङ टोलीसँग छलफल भइरहेको छ । सुरुङभित्र खोज तथा उद्धार कार्य अझै जारी रहेको र हाल नेपाली सेनाका ४२ जना जनशक्ति परिचालन गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया