काठमाडाै । मलेसियाको वैदेशिक रोजगारमा सीमित २५ वटा म्यानपावरको एकाधिकार र सिन्डिकेट खडा गरी नेपाली युवाहरूबाट करोडौँ रुपैयाँ असुल्दै आएका म्यानपावर व्यवसायीहरूमाथि कानुनी सिकञ्जा कसिने बित्तिकै देशै छाडेर भागिसकेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको निर्देशनमा सीआईबीले छापा मारी ट्रस्ट नेपाल म्यानपावरका रविन गुरुङलाई पक्राउ गरेलगत्तै अन्य २५ म्यानपावर सञ्चालकहरू भारत र मलेसियातिर फरार भएका हुन्।
पक्राउ परेका गुरुङलाई सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमार्फत हतार-हतार रिहा गराएपछि कानुनी र राजनीतिक सेटिङको गम्भीर आशङ्का उब्जिएको छ। वैदेशिक रोजगार न्यायाधीकरणबाट पक्राउ पुर्जी जारी भएका ती फरार व्यवसायीहरूलाई ३५ दिनभित्र बयानका लागि उपस्थित नभए बैंकिङ खाता, घरजग्गा र राहदानीसहित यात्रा अनुमति रोक्का गर्ने कडा चेतावनी विभागले दिएको छ। सोझा नेपाली युवाहरूलाई ठगी गरी अरबौँको अवैध धन्दा चलाउने म्यानपावर माफियालाई अदालत र शक्ति केन्द्रले उम्काउन खोजेको भन्दै चौतर्फी आक्रोश र खबरदारी बढेको छ।

प्रतिक्रिया