विराटनगर । कोशी प्रदेशमा नेपाली भाषासँगै थप १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको छ ।
प्रदेश सरकारले उक्त दिनलाई ‘प्रदेश भाषा दिवस’का रूपमा मनाउने र सरकारी कार्यालयमा दीपावली गर्ने निर्णय गरेको छ ।
१६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्तीको अवसर पारेर सरकारी कामकाजको भाषा ऐन, २०८३ कार्यान्वयनमा ल्याउन लागिएको हो ।
शुक्रबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले कात्तिक २५ गतेदेखि ऐन लागू गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिए । उनका अनुसार प्रत्येक वर्ष उक्त दिन प्रदेश भाषा दिवस मनाइनेछ ।
भाषा दिवसका अवसरमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायका कार्यालयमा दीपावली गरिने निर्णयसमेत बैठकले गरेको छ । प्रदेश सरकारले राजनीतिक दल, गैरसरकारी संघसंस्था र नागरिक समाजलाई पनि दीपावली गरी दिवस मनाउन आह्वान गरेको छ ।
कोशी प्रदेशसभाले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक, २०८३ असोज २४ गते सर्वसम्मत रूपमा पारित गरेको थियो । प्रदेश प्रमुख परशुराम खापुङले प्रमाणीकरण गरेपछि विधेयकले कानुनी रूप लिएको हो ।
ऐनले नेपाली भाषाका अतिरिक्त मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाली भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था गरेको छ । यससँगै प्रदेशका विभिन्न भाषिक समुदायले आफ्ना भाषा सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी आधार पाउनेछन् ।
भाषा, संस्कृति र समुदायबीच समान सम्मानको भावना विकास गर्दै सामाजिक एकता सुदृढ गर्न ऐनले सहयोग पुग्ने प्रदेश सरकारको अपेक्षा छ ।

प्रतिक्रिया