न्युजरुममै पसेर पक्राउ गर्नु निरङ्कुश पञ्चायतकालीन तानाशाहीः निवर्तमान अध्यक्ष पोख्रेल

न्युजरुममै पसेर पक्राउ गर्नु निरङ्कुश पञ्चायतकालीन तानाशाहीः निवर्तमान अध्यक्ष पोख्रेल


काठमाडौं । नेपाल प्रेस’का पत्रकार विश्वमणि सुवेदीलाई सादा पोशाकमा आएका प्रहरीले पक्राउ पुर्जीसमेत नदिई कार्यालयभित्रै छिरेर नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले घोर भर्त्सना गर्दै यसलाई निरङ्कुश पञ्चायतकालीन अभ्यासको संज्ञा दिएका छन्।
समाचारको स्रोत खोल्न दबाब दिने नियतले साइबर ब्युरो र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली प्रयोग गरेर सञ्चार गृहमाथि गरिएको यो हमला लोकतान्त्रिक व्यवस्थामा कल्पनासम्म गर्न नसकिने आपराधिक कदम भएको उनले स्पष्ट पारेका छन्।
अन्तर्राष्ट्रिय मान्यता अनुसार अदालतले समेत पत्रकारलाई समाचारको स्रोत खोल्न बाध्य पार्न नसक्ने अवस्थामा प्रहरीले न्युजरुममै पसेर आतङ्क सिर्जना गर्नु र अन्य पत्रकारहरूलाई पनि पक्राउ गर्न खोज्नुले सिङ्गो सञ्चार जगत्‌लाई तर्साउने र बिचौलिया संयन्त्र जोगाउने राज्यसत्ताको मनसाय पर्दाफास भएको छ।
समाचारप्रति आपत्ति भए निरूपण गर्ने वैधानिक निकाय प्रेस काउन्सिल हुँदाहुँदै सोझै बर्दीको धौंस देखाउने रवैया नस्वीकारिने चेतावनी दिँदै पोख्रेलले पक्राउ परेका पत्रकार सुवेदीको बिनाशर्त तत्काल रिहाइको माग गरेका छन्।