बाढीपहिरोले पाँच स्थानका सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

बाढीपहिरोले पाँच स्थानका सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने


काठमाडौँ। बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका प्रहरी प्रधानकार्यालयले जनाएको छ ।

यसैगरी, सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा राति सवारी आवागमन बन्द गरिएको छ ।

गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीको फलामे मोटरेबल पुल बुढीगण्डकी बाढीले बगाएपछि ती दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली र वडा नं ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमासुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।