कोशी कांग्रेसको नेतृत्व प्रतिस्पर्धा चर्कियो, रायमाझी–लिम्बू–थापा–फागो मैदानमा

कोशी कांग्रेसको नेतृत्व प्रतिस्पर्धा चर्कियो, रायमाझी–लिम्बू–थापा–फागो मैदानमा


बिराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढेसँगै कोशी प्रदेशमा पार्टी नेतृत्वको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ। केन्द्रीय महाधिवेशनपछि हुने प्रदेश अधिवेशनलाई लक्षित गर्दै प्रदेश सभापतिका लागि चार प्रभावशाली नेताहरू— वर्तमान प्रदेश उपसभापति तथा राष्ट्रियसभा संसदीय दलका पूर्व नेता रमेशजंग रायमाझी , मोरङ कांग्रेसका सभापति तथा पूर्व संघीय मन्त्री डिकबहादुर लिम्बू, वर्तमान प्रदेश महामन्त्री उमेश थापा र सहमहामन्त्री तथा उर्लाबारी नगरपालिकाका पूर्वप्रमुख खड्ग फागोले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन्।
प्रदेश अधिवेशनको मिति औपचारिक रूपमा तय भइनसके पनि आकांक्षी नेताहरूले आन्तरिक भेटघाट, परामर्श र कार्यकर्ता परिचालनलाई तीव्र बनाएका छन्। चारै नेताले संगठन विस्तार, नयाँ पुस्ताको सहभागिता, राजनीतिक मुद्दाको सम्बोधन र आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बनाउने लक्ष्यलाई आफ्नो नेतृत्वको आधारका रूपमा अघि सारेका छन्।
प्रदेश र राष्ट्रिय राजनीतिमा संसदीय अनुभव हासिल गरेका रमेशजंग रायमाझीले पनि भेटघाट र आन्तरिक परामर्शलाई तीव्र बनाउँदै प्रदेश सभापतिमा प्रमुख दावेदारका रुपमा आफुलाई अगाडी सारेका छन् । काँग्रेसको बिशेष महाधिबेशनको बेला नै तत्कालिन सभापति शेर बहादुर देउवा र उपसभाति पुर्ण बहादुर खड्कालाई धोका दिदै गगन समुहमा प्रबेश गरेका रायमाझीले आफुलाई सभापति गगन थापाको बचन प्राप्त भएको दावी समेत गरेका छन् । कार्यकर्ता नेताहरुको भेटघाटमा सभापति थापाको सल्लाहमा नै आफु अगाडी बढेको बताएका छन् ।
अर्का दावेदार बरिष्ठ नेता डा शेखर कोइरालाका बिश्वासपात्र मोरङ कांग्रेसको जिल्ला सभापतिको जिम्मेवारी सम्हालिसकेका पूर्वमन्त्री डिकबहादुर लिम्बूले प्रदेश सभापतिमा सभापति गगन थापासंग सहमति भएपछि डा शेखर कोइरालालाई धोका दिएर बिशेष महाधिबेशनको पक्षमा खलेर लागेको बताएका छन् । लिम्बु निकट एक नेताले आफुलाई सभापति थापाको स्पष्ट समर्थन रहेको जानकारी दिएका छन् । लिम्बुलाई सभापति थापाले आफ्नो समुहमा भित्र्याएपछि सभापति थापाका निकट मानिने नेता खड्ग फागोले भने सभापतिसंगको दुरी बढाएका छन् ।

पूर्वमन्त्री डिकबहादुर लिम्बूले जिल्ला तहको जिम्मेवारी पूरा गरिसकेपछि प्रदेश संगठनलाई थप सुदृढ बनाउन प्रदेशको नेतृत्वमा दाबी गरेको बताएका छन्। कोशी प्रदेशमा पहिचान र समावेशिताको मुद्दा उत्तिकै सान्दर्भिक रहेको औँल्याउँदै उनले कांग्रेसले यी विषयलाई दस्तावेजमा सीमित नराखी जनतासम्म पुर्‍याउनुपर्ने र युवा पुस्तालाई जिम्मेवार भूमिका दिनुपर्नेमा जोड दिएका छन्।

त्यस्तै, साढे चारदेखि पाँच वर्ष महामन्त्रीका रूपमा सांगठनिक काम गरेको अनुभवलाई आधार मान्दै उमेश थापाले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। वर्तमान कार्यसमितिले प्रदेश कांग्रेसको आफ्नै जग्गा खरिद गरी भवन निर्माण गरेको र स्थानीय तहमा पार्टीलाई बलियो बनाएको दाबी गर्दै उनले बदलिँदो राजनीतिक परिस्थितिमा युवाहरूको प्रभावकारी सहभागितासहित कांग्रेस निर्माणका लागि आफू तयार रहेको बताएका छन्।

उता, खड्ग फागोले भने प्रदेश सभापतिमा आफ्नो दाबी नयाँ नभएर यसअघि नै तयारी र घोषणा गरिसकेको विषय भएको स्पष्ट पारेका छन्। स्थानीय तह र प्रदेश संगठनमा काम गरेको अनुभवलाई राजनीतिक आधार बनाएका फागोले नेतृत्वको प्रतिस्पर्धालाई लोकतान्त्रिक प्रक्रियाको हिस्साका रूपमा लिएको बताएका छन्।

कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र पालिका सभापतिहरूसहित करिब २७ सय प्रतिनिधिले प्रदेश नेतृत्व चयन प्रक्रियामा सहभागिता जनाउने अनुमान गरिएको छ। केन्द्रीय महाधिवेशनपछि हुने भनिएको यो प्रदेश अधिवेशन आगामी कात्तिक, मंसिर वा पुससम्ममा हुनसक्ने नेताहरूको भनाइ छ। नेतृत्वका आकांक्षीहरूबीच सहमति जुट्छ वा निर्वाचनमार्फत नेतृत्व चयन हुन्छ भन्ने विषयले अहिले कोशी कांग्रेसको राजनीतिक वातावरणलाई थप तातो बनाएको छ।