विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित


काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै विराटनगरले जितको खाता खोलेको हो।

वर्षाका कारण ५ ओभरमा छोट्याइएको खेलमा विराटनगरले पहिले ब्याटिङ गर्दै २ विकेटको क्षतिमा १०५ रनको विशाल योगफल तयार पारेको थियो। जवाफमा सुदूरपश्चिमले निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो।

विराटनगरको आक्रामक ब्याटिङमा सेहान जयसूर्याले सर्वाधिक ३९ रन बनाए। उनले ११ बलमा २ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै लोकेश बमले १० बलमा २५ रन जोड्दा आन्द्रे रसेल २९ रनमा अविजित रहे।

१०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमका लागि स्कट कुग्लेजिनले २८ र आरिफ शेखले १७ रन बनाए। सैफ जैबले १७ रन जोडे। तर, अन्य ब्याटर चल्न नसक्दा टोली लक्ष्यसम्म पुग्न सकेन।

विराटनगरका बलरहरूले कसिलो प्रदर्शन गर्दा सुदूरपश्चिमले ७० रनमै खेल टुंग्यायो।

यसअघि विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले तथा दोस्रो खेलमा कर्णाली याक्ससँग ४ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा आएर विराटनगरले पहिलो जित निकालेको हो।

सुदूरपश्चिमको भने यो दोस्रो हार हो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो।

वर्षाका कारण निर्धारित २० ओभरको खेललाई ५ ओभरमा सीमित गरिएको थियो। खेल साँझ ९:२० बजे मात्र सुरु भएको थियो।

शनिबारकै पहिलो खेल वर्षाले प्रभावित भएपछि चितवन राइनोज र लुम्बिनी लायन्सले अंक बाँडेका थिए।

एनपीएलअन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ बजे सुरु हुनेछ।