प्रभु बैंकका २ उच्च अधिकारीसहित १४८ कर्मचारीले जागिर छाड्दै

प्रभु बैंकका २ उच्च अधिकारीसहित १४८ कर्मचारीले जागिर छाड्दै


काठमाडौँ । 

प्रभु बैंक लिमीटेडको व्यवस्थापनका २ उच्च अधिकारीसहित १४८ कर्मचारीले जागिर छाड्ने भएका छन् । 

सेन्चुरी कमर्सियल बैंकलाई गाभेपछि धेरै भएका कर्मचारी कटौती गर्ने उद्देश्यले बैंकले स्वेच्छिक अवकाश योजना (भिआरएस स्किम) ल्याएको थियो ।

 सो स्किममा सहभागिताका लागि एक डेपुटी जनरल म्यानेजर र असिस्टेन्ट जनरल म्यानेजरसहित १४८ कर्मचारीले आवेदन दिएका हुन् । 

बैंकस्थित उच्च स्रोतका अनुसार डेपुटी जनरल म्यानेजर अनुपमा श्रेष्ठ र असिस्टेन्ट जनरल म्यानेजर भोलाप्रसाद पाठकले भीआरएस स्किमका लागि आवेदन दिएका हुन् । 

भिआरएस रोजेकी अनुपमा तत्कालीन सेन्चुरी बैंकबाट आएकी हुन् भने पाठक चाहिँ प्रभु बैंकमै लामो समयदेखि कार्यरत थिए । 

भीआरएस रोज्ने कुल १४८ कर्मचारीमध्ये माथिल्लो पदका सेन्चुरीबाट आएका बढी छन् भने तल्लो पदका प्रभुका बढी छन् । 

भीआरएस योजनाअन्तर्गत प्रभु बैंकले ५ वर्षभन्दा कम जागिर खाएका सहायक प्रबन्धकका लागि  २० महिनाको कुल तलब र ५ वर्षमाथि जागिर खाइसकेकालाई २४ महिनाको कुल तबल एकमुष्ट उपलब्ध गराउनेछ । 

यस्तै, अधिकृत तहका लागि भने ३ वर्षभन्दा बढी जागिर खानेलाई २० महिना बराबरको कुल तलब दिइनेछ । 

सेन्चुरी समेत गाभिएपछि बैंकमा हाल ३५०० हाराहारीमा कर्मचारी कार्यरत छन् । 

बैंकले साउन तेश्रो साता भीआरएस योजना सार्वजनिक गर्दै इच्छुक कर्मचारीबाट आवेदन मागेको थियो । पहिलो चरणमा उपलब्ध म्यादमा निकै कम कर्मचारीले मात्र आवेदन दिएपछि भीआरएसकै मोडालिटीमा केही संसोधन गरी पुनः आवेदन मागिएको थियो । त्यसपछि भने कर्मचारीहरूको आवेदन परेको हो ।