काठमाडौं महानगरले पहिलो चौमासिकमा २ अर्ब ९२ करोड राजस्व उठायो

काठमाडौं महानगरले पहिलो चौमासिकमा २ अर्ब ९२ करोड राजस्व उठायो


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको छ ।

उक्त रकम गत आवको सोही अवधिको भन्दा १७ करोडले बढी हो । कामपाले गत आवको पहिलो चौमासिकमा दुई अर्ब ७५ करोड ९८ लाख ६४ हजार राजस्व असुल गरेको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए । उनका अनुसार चालु आवको चार महिनामा सबैभन्दा धेरै घरबहाल कर ८१ करोड ९२ लाख र सम्पत्ति कर ४१ करोड ८६ लाख असुल भएको छ ।

कामपाले चालु आवका लागि १० अर्ब ८० करोड राजस्व असुलको लक्ष्य लिएको छ । पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको विभागका प्रमुख काफ्लेको भनाइ छ । “गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै ६ सय ४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता उल्लेख्य रूपमा बढेका छन्”, उनले भने, “पछिल्लो समय एक हजार तीन सय करदाता थपिएका छन् ।”

अहिले कामपामा तीन लाखभन्दा बढी करदाता रहेका काफ्लेले जानकारी दिए । राजस्व संकलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय लामो समयदेखिको बक्यौता रकमसमेत उठ्न थालेको उनले बताए । कामपाले ३२ वटै वडा कार्यालयबाट राजस्व संकलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्न थालेको काफ्लेको भनाइ छ ।

लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम जरिवानाको कारण तिर्न आनाकानी गरिरहेका करदाताका लागि आगामी पुस मसान्तसम्म जरिवाना रकममा छुट दिएकाले राजस्व सङ्लग्नमा थप सहज भएको छ ।

यसअघि राजस्व तिर्नका लागि वार्षिक तीन लाखसम्म सम्बन्धित वडा कार्यालय र त्यसभन्दा बढीका लागि कामपाको केन्द्रमा आउनुपर्ने व्यवस्था रहेको राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले बताए । उनका अनुसार हाल कामपाले सम्पत्ति, बहाल, मनोरञ्जन, व्यवसाय, विज्ञापन करलगायत नौ शीर्षकमा कर संकलन गर्दै आएको छ ।