स्वास्थ्यमन्त्री बस्नेत ‘माफियाको नाइके’ भएको भन्दै तत्काल पदमुक्त गर्न माग

स्वास्थ्यमन्त्री बस्नेत ‘माफियाको नाइके’ भएको भन्दै तत्काल पदमुक्त गर्न माग


काठमाडौं ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् ।

उनले आइतबार विज्ञप्ती जारी गर्दै मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाएका छन् र पदमा बसिरहनु लोकतान्त्रिक मूल्य मान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन् ।

‘…मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानूनी र खेदपूर्ण कार्य हो। यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्य मन्त्री माफियाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रही रहनु लोकतान्त्रिक मूल्यमान्यताको वर्खिलाफ हो। निजलाई तत्काल पदमुक्त गरियोस्,’ विज्ञप्तिमा उल्लेख छ।

डा. केसीले स्वास्थ्य मन्त्री बस्नेतले आफूमाथि लगाएको आरोप कल्पोकल्पित र झुटो भएको पनि बताएका छन्।

‘सीटीईभीटी अन्तर्गत मापदण्ड नपुगेका र विगतमा नियम मिचेर सञ्चालन गरेका राजनीतिक माफिया कार्यकर्ताहरूको नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कलेज तथा शिक्षालयहरूलाई सम्बन्धन र सञ्चालन अनुमति दिन र दिलाउन विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरू, प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, संसदीय स्वास्थ्य तथा शिक्षा समितिका सांसदहरू र माफियाहरू तथ्यहीन हल्ला फैलाएर जनमानसमा गलत धारणा स्थापित गरी दबाब सिर्जना गर्ने दुष्प्रयास गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘माफियाहरूको तर्फबाट स्वास्थ मन्त्रीको यो थप नयाँ प्रयास हो।’

यस्तै, डा. केसीले आफू विरुद्ध लगाइएको आरोपको छानविन गर्न पनि आग्रह गरेका छन्। उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा, स्वास्थ्य मन्त्री(पदमुक्त गरेपछि) र सम्बन्धित निकायका पदाधिकारी साथै वरिष्ठ पत्रकार सदस्य रहेको छानविन आयोग गठन गर्न माग गरेका छन्। ‘छानविनमा मेरो पूर्ण सहयोग रहनेछ र मेरो अलिकति पनि संलग्नता पाइएमा कुनै पनि सजाय भोग्न तत्पर छु,’ विज्ञप्तिमा उल्लेख छ।

तर, सरकार र आफूहरूबीच भएको सम्झौता यही मंसीर २८ गतेभित्र कार्यान्वयन नभएमा भने मंसीर २९ गतेदेखि थप कडा माग सहित सत्याग्रह लगायतका कार्यक्रम शुरू गर्ने पनि डा. केसीले चेतावनी दिएका छन्।