बालिका हत्या गर्ने भारतीय नागरिकसहित २ जना जेल चलान

बालिका हत्या गर्ने भारतीय नागरिकसहित २ जना जेल चलान


बाँके ।

बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन् ।

बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो ।

बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतीय नागरिक चौहान बाँकेमा रहेको ससुरालीमा विगत १० वर्षदेखि बस्दै आएका थिए ।

चौहानले डुडुवा गाउँपालिका–१ टेपरीस्थित रामकुमार बाहुनको खेतमा गत कात्तिक १४ गते साग टिपिरहेकी १४ वर्षीया रीता हरिजन भन्ने शिलाबति चमारको मुख थुनेर हत्या गरेको प्रहरी प्रवक्ता डाँगीले बताए ।

उनका अनुसार अभियुक्त चौहानले प्रहरी समक्ष आफूले शिलाबति चमारलाई खेतमा साग टिपिरहेको अवस्थामा मुख थुनेर हत्या गरेको स्वीकार गरेका छन् । शव परीक्षण प्रतिवेदनमा पनि उक्त कुरा खुल्न आएको प्रहरीले जनाएको छ ।

चौहानले चमारको हत्या पश्चात नजिकै ट्याक्टरले खेत जोतिरहेको ठाउँमा लगी सोही ट्याक्टरको फालिले हिर्काइ खेतमा एउटा खुट्टा बाहिर देखिने गरी पुर्ने प्रयास गरेका थिए ।

अभियुक्त चौहानले घट्नालाई तोडमोड गर्नका लागि खेत जोत्दा शव फेला परेको भन्ने भ्रम फैलाएका थिए । अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलबाट करिब एक दशमलव पाँच किलोमिटर टाढाबाट भाग्दै गरेको अवस्थामा अभियुक्त चौहानलाई पक्राउ गरेका थिए ।

पीडकविरुद्ध गत कात्तिक १६ गते म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरीले नाबालिकाको मृत्यु शङ्काास्पद देखिएकाले अनुसन्धान गर्न बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहरा एसओसिओ अफिसर र तालिम प्राप्त कुकुरसहितको टोली लिएर घट्नास्थलमा पुगेका थिए ।

अभियुक्तविरुद्ध पीडित परिवारले जाहेरी नदिएकै कारण प्रहरी आफैले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी प्रमुख बोहोराले जानकारी दिए । बाँके प्रहरीका अनुसार शिलाबति चमारको शव माटोमुनी गाडिएको अवस्थामा भेटिएको थियो ।

यता गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिका हत्याका आरोपित एक व्यक्ति पूर्पक्षका लागि जेल चलान भएका छन् ।

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिका–७ का २३ वर्षीय रहिस खाँ पूर्पक्षका लागि सोमबार जेल चलान भएका हुन् ।

गत कात्तिक १७ गते उक्त बालिकाको शान्तिपुर घर नजिकैको हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा शव फेला परेको थियो । बालिकाको दर्दनाक अवस्थामा खोलामा शव फेला परेपछि स्थानीयले बलात्कारपछि हत्याको आशङ्का गर्दै विरोध र प्रदर्शनमा उत्रिएका थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नवीनकिशोर प्रधानसहितको प्रहरीको टोली तत्काल घटनास्थल पुगेर अनुसन्धानपछि शङ्कास्पद व्यक्ति खाँलाई नियन्त्रणमा लिएको थियो ।

मृतक बालिका शान्तिपुरको श्रीलङ्काटोलमा आमासँग डेरामा घरमा बस्दै आएकी थिइन् । आमासँग घर नजिकैको खेतमा काम गर्न गएकी उनी कात्तिक १६ गते बिहान ११ बजे खेतलालाई सुर्ति किन्न बजार गएपछि सम्पर्कबिहीन बनेकी थिइन । गुल्मी प्रहरीले घटनामा संलग्न भएको आरोपमा खाँलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि गुल्मी जिल्ला अदालतमा पेस गरेको थियो ।

गुल्मी जिल्ला अदालतले सोमबार खाँलाई पूर्पक्षका लागि जिल्ला कारागार गुल्मी चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लीनारायण पाण्डेयले जानकारी दिए । हत्या आरोपी खाँलाई प्रहरीले गत कात्तिक १७ गते चन्द्रकोट गाउँपािलका ‐४ अन्र्तगत शान्तिपुरबाट पक्राउ गरेको थियो ।