Logo

प्रदेश नं २ निर्वाचन : उमेदवारी दर्ता उत्साहपूर्ण


काठमाडौं । तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रुपमा उमेदवारी दर्ता निर्वाचन कार्यलयले जनाएको छ ।
निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा बुधबार भएको उमेदवारी मनोनयन दर्ता कार्य उत्साहजनक र शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको हो । २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उमेदवारी दर्ताका लागि समय निर्धारण गरिए पनि उमेदवारहरुको अत्यधिक सहभागिताका कारण पाँच बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउने भिड समेत लागेको बताएको छ ।
मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतको कार्यालयमा निर्धारित समय ५ बजेभित्र प्रवेश गरिसकेका उमेदवारहरुको उम्मेदवारी दर्ता कार्य साँझ अबेरसम्म पनि सञ्चालन भइरहेको थियो । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा जस्तै तेस्रो चरणको प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनमा जनसहभागिता रहेको कार्यालयले जनाएको छ । असोज २ हुने निर्वाचनका लागि १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ र निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुनेछन ।

प्रतिक्रिया दिनुहोस्