मलाई नसुनाइएको मेरा बुबाको ‘मृत्यु’काे खबर

मलाई नसुनाइएको मेरा बुबाको ‘मृत्यु’काे खबर


म्यासेन्जरमा आमाले लगातार फोन गरिरहनुभयो, आमाको त्यो दैनिकी जस्तै हो ।

बिहानको समय उनी ( धनु भट्टराई ) र म निकै व्यस्त रहन्छौँ । धुलाबारी मावि उनको सेवारत विद्यालय हो । उनले बिहान ६. १५ मा विद्यालय पुग्नैपर्छ । यो एउटा शिक्षकको काम र जिम्मेवारी । उनको नियमित ड्युटी नै हो, त्यो ।

यही पुस ५ गते बिहान ७ः४५ देखि म्यासेन्जरमा आमाको फोन आइरह्यो । ३ पटकसम्म उठाइनँ । चौथो पटकको उठाएँ । आमाको हतास आवाज – बुबा साह्राे हुनुभो, तँ हिडिहाल् । झापाको धुलाबारी बस्दै आएको मैले तत्काल गाडी बोलाएँ । गाडी आउँदासम्म मैले उनलाई (धनु) विद्यालय पुर्‍याएँ ।

कोठामा फर्किएर लुगा लगाएँ, गाडी लिएर सम्बोधन गर्ने साइनो सालो, कृष्ण पोखरेल धुलाबारी आए । केही कपडा झोलामा हालेर म हतपत हिडेँ । त्यसबेलासम्म मैले दाइ कृष्ण र भाइ विनोदलाई फोन गर्न भ्याइसकेको थिएँ । बुबा बिरामी भएको अशुभ खबर सुनाएर उनीहरूलाई झट्टै दमक निस्किन भनेँ ।

कृष्ण पोखरेल र म दमक आइपुग्नुअगावै दाइ र भाइ गौरादहको दहगाउँबाट दमक आइसकेका थिए । हामी ३ दाजुभाइ रफ्तारमा हुइकियौँ ।तर दुर्भाग्य बुबालाई जीवितै भेट्ने हाम्रो अभिलाषा विफल बन्यो । बुबा ११ः३५ मा हामीसँगको भौतिक साथ छोडेर सदाका लागि अलप हुनुभयो ।

गाह्राे भएको आमाको अल्प खबरसँगै म बुबालाई एम्बुलेन्समा धरान, विराटनगर वा बिर्तामोडको सुविधा सम्पन्न अस्पतालमा चेक गराउने हुटहुटीमा लागिरहेँ । आमाको खबरपछि मैले काका मुक्ति, भाइहरू बद्री, दिलीप र भुवनलाई छिटो पठाइदिन निरन्तर दबाब दिइरहेँ । तर, त्यो दबाब सार्थक बन्न सकेन । अवस्था अन्तिम भइसकेको रहेछ । बुबा बिरामी भएको केही क्षणमै बित्नुभयो ।

मैले निरन्तर दबाब दिएपछि भाइ बद्रीले एम्बुलेन्समा उनको ठुलोबुबालाई धरानसम्म ल्याउन कोसिस गरे । बुबाको अवस्था जटिल भनेसँगै भाइ बद्रीको त्यो प्रयास निरर्थक बन्यो । बुबालाई कहीँ लानै भ्याइएन । बिहान ११ः ३५ मा भौतिक रूपमा बुबा सदाका लागि यो धराबाट अस्ताउनु भयो ।

बुबा धार्मिक व्यक्तित्व । हरेक बिहान-बेलुका पूजापाठ गर्नैपर्ने । गायत्री जप्ने, पितृलाई सम्झने- तर्पण दिने, पाञ्चायन पुज्ने, चण्डी पाठ गर्ने । जुठो, सुतकबाहेक उहाँको यो दैनन्दिनको कर्म हो । बुबा त्यसकै तयारीमा जुट्नुभएको रहेछ । बुबाले सक्नुभएन, त्यो दिन पूजा गर्न भ्याउनुभएन । बुबाको ६ दशक लामो पूजा यात्रामा त्यही दिनदेखि सदाका लागि पूर्णविराम लाग्यो ।

पुस ५ मा पनि बुबा सखारै उठ्नुभयो । लघुशंका र शाैच गरेर स्नान पनि सक्नुभयो । घरको बलेँसीमा धारा आउँछ । ड्रममा पानी भरिएको हुन्छ, भरिन्छ । तर, बुबाले त्यो ड्रमको पानीले कहिल्यै नुहाउनुभएन । त्यो दिन पनि बुबाको पहिलाकै दैनिकी दोहोरियो ।

भञ्ज्याङ पुग्नुभयो । नुहाउनु भयो । घरबाट त्यहाँसम्म जान धेरैमा २ मिनेट लाग्ला । बुबाले नुहाउनुभयो, पूजापाठका लागि शुद्ध पानी बोकेर घर आइपुग्नासाथ असहज महसुस गर्नुभयो । तुलसीको मठमा पानी राख्नुभयो । आमालाई भन्नुभयो – ओई ! मलाई चिसो भयो, असजिलो भयो । बाँकी बोल्नुभएन ।

हाम्रो घर भोजपुर पहाड हो, हाम्रो सामान्य घर छ । घरको बाहिर ३ वटा खाट छन् । जसमध्ये बीचको खाटमा मात्रै बुबा बस्नुहुन्छ, हुन्थ्यो । बुबा अन्तिम पटक त्यही खाटमा ढल्कनुभयो । बुबाको अन्तिम अवस्था भइसकेको रहेछ ।

बुबा डिल्लीप्रसाद गौतमले मेरी आमा चित्रकुमारी गौतमसँग अन्तिम वाक्य बोल्नुभयो – केटाकेटी अत्याउने भई यसले । यो नै बुबाको अन्तिम वाक्य थियो । जतिबेला बिहानको ७ः५७ बजेको थियो । उहाँले इसाराले आमालाई फोन गर्न रोकिरहनुभयो ।

बुबा जतिबेला खाटमा बस्नुभयो, उतिबेला नै अन्तिम सास फेर्नुभएको रहेछ । मलाई आमाले फोन गर्दा साह्राे भन्नुभएको मात्रै रहेछ । छोरोले पीर मान्छ, आत्तिन्छ भन्ने आमाको निष्कर्ष रह्यो । त्यो सुझबुझपूर्ण निर्णय हो । बाबुआमाले सधैँ सन्तानलाई सानो देख्नु स्वाभाविक हो, यो परम्परा नै हो ।

मेरा अभिभावकले त्यही गरिरहनुभयो । राजेन्द्र आत्तिन्छ भन्नेमा उहाँहरूको सोचमा कुनै खोट छैन । बुबा लिन आइज मात्रै भनिरहनुभयो । त्यो असम्भव भयो । तर, मैले आमाको फोनसँगै बुबालाई एम्बुलेन्समा हालेर पठाइदिन दबाब दिई नै रहेँ ।

म झापाबाट हिँडेदेखि किन्न भनेर म्यासेन्सरमा औषधिको नाम पठाइयो । मैले धरानमा आएर औषधि खोजेँ, भेटिएन । औषधि नभेटिएको मेरो जबाफसँगै नखोजिरहनू, छिटो आउनू मात्रै भनियो । फेरि मैले पाख्रीबासमा आएर त्यो औषधि खोजेँ, भेटिएन । फोन गरेँ र भने औषधि भेटिएन । भनियो – त्यो औषधिको अब काम छैन । त्यसबेला मात्रै थाहा भयो, अब मेरो बुबा रहनुभएन । फेरि फोन गरें, साँच्चो भन्नु न ! जबाफ थियो – त्यस्तो होइन, तँ छिटो आइज ।

म पाख्रीबासबाट हिँडेपछि फोन गर्न छाडिदिएँ । किनकि, उहाँहरूलाई फोन होइन, अरू नै पीडाले निलेको थियो । अभिभावक गुमाएको पीडा उहाँहरू सहन गरिरहनुभएको थियो । भैँसेदेखि तल झरेपछि हामी चढेको कारको ब्रेक लागेन । केही समय बस्नैपर्ने भएपछि बुबाकै विषयमा कुरा गर्दै केहीबेर बस्यौँ । गाडी तातेर ब्रेकमा समस्या आएको रहेछ । बिनामर्मत केहीबेरमै गाडी ठिकठाक भयो ।

हामी गाडी चढ्यौँ । मैले गाडीको रफ्तार बढाउन भनेँ । पहाडी सडक भए पनि गाडी ८० को स्पिडमा गुड्न थाल्यो । हामी जरायोटार आइपुग्याैँ । इन्ट्री गर्नुपर्ने नियम रहेछ । गाडी प्रहरी चौकीअगाडि रोकियो । म गाडीबाट हतपत उत्रिएँ । सडकमा उभिएका प्रहरीले सोधे – कहाँ जाने हो । मैले भनेँ – पाउली । उनले भने – पर्दैन, जानुस् जानुस् । पण्डित बाकोमा हिँड्नुभएको ?

प्रहरीले हतारमा जानुस् र इन्ट्री पनि गर्नुपर्दैन भनेपछि मेरो बुबा बितिसकेको प्रष्ट भयो । जरायोटारबाट हाम्रो घर पाउली पुग्न ३ किलोमिटर जति छ । हामी घरमा आउँदा बुबालाई तुलसीको मठमा लडाएको रहेछ । घरमा सयौँ मानिस जम्मा हुनुहुन्थ्यो ।

मैले हतारमा बुबाको मृतमुख हेरेँ । मलाई केले किच्यो किच्यो । अत्ताल्लिएरै सम्हालिने कोसिस गरेँ, सम्हालिएँ । कपाल मुण्डन गर्न भनियो । मैले अडान कसेँ- आज बुबालाई घाट लगिन्न भन्ने । मरो अडान फिक्का सावित भयो । दाहसंस्कार गर्ने बैरेनी घाटामा सयौँ आफन्त र शुभचिन्तक भेला हुनुभएको रहेछ । चिता नै बनाइसकेको रहेछ ।

आफन्त, शुभचिन्तकको बाक्लो उपस्थिति । घनघोर पीडाले थिचिएरै मैले निर्णय गरेँ – चिता नै बनाइसकेपछि बुबाको शव भोलिपल्टसम्म राखिरहनुहुन्न । बुबा नै नरहेपछि जिद्दी गर्नुको के अर्थ !

म आफन्त र शुभचिन्तकको मन नदुखाउने निर्णयमा पुगेँ – केवल मलाई पर्खनुभएको हो, उहाँहरूलाई किन खिन्न बनाउने ! बुबाको दाहसंस्कार त्यही दिन गरियो । हजार कोसिस गर्दा पनि घाटबाट फिर्न मन लागेन । मेरो दिमाग बेसुरा भइरह्यो । जेनतेन राति १ बजे घर आइपुगियो । बुबा वियोगको पीडा सहन गर्नुको हामीसँग कुनै विकल्प छैन ।

मलाई थाहा छ, हामीले जति नै अलाप गरे पनि अब बुबा कहिल्यै फिर्नुहुन्न । उहाँसँगको भौतिक संगत सदाका लागि निमेषभरमा टुंगियो । तर बुबा मसँग अझै नजिक हुनुभएको छ । म अब जता जान्छु बुबा त्यतै जानुहुन्छ । मैले जसरी हेर्न चाह्यो, त्यसरी हेर्न सक्छु । जत्रो आकृति दियो, त्यत्रै बनाउन सक्छु । बाहिर होइन, अब मभित्र बुबा हुनुहुन्छ । मेरो साथ, मस्तिष्क र सोचमा बुबा हुनुहुन्छ । नकि, अन्यत्र बाहिर । मैले यत्ति बुझेँ ।

सबैलाई थाहा छ, मृत्यु कसैका लागि प्रिय हुन्न । मलाई चाहिँ यतिमात्र थाहा छ, अभिभावक आफन्त, शुभचिन्तक, प्रियजनका लागि म अझै परिपक्व भएको छैन । सत्य यही हो, म यो विषयमा अपरिपक्व छु । तर, योभन्दा ठुलो कुरा मप्रति राखिएको सद्भाव र सुझबुझ हो । म आत्तिनुहुन्न र निराश बन्नुहुन्न । सांसारिक नियमलाई उहाँहरूले गरेको प्रयास मेरो जीवनमै स्तुत्य रहनेछ ।

मेरो बुबाको मृत्युको असह्य खबर नसुनाएरै देखाउनुभयो, यसले अगाध स्नेह र सद्भाव दर्शाउँछ । जसले मलाई झापामा हुँदा बुबाको मृत्युको खबर सुनाएको थियो भने म आत्तिन सक्थेँ, असहज हुन सक्थेँ, बेहोस हुन सक्थेँ । बुबाको मृत्युसँगै अर्को असहजता हुन सक्थ्यो । बुबालाई भौतिक रूपमा नभेटे पनि भावनात्मक रूपमा सबैको समीपमा रहेँछु । त्यसैले बुबाको मृत्युको खबर मलाई हठात् नसुनाइएको रहेछ, सीधै नभनिएको रहेछ ।