बिजुलीका कारण फेरियाे नारच्याङ गाउँ

बिजुलीका कारण फेरियाे नारच्याङ गाउँ

विकास टाइम्स
0
Shares

म्याग्दी ।

२०४४ सालअघि सुनसान र गुमनाम थियो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ गाउँ । २०४४ मा पहिलो पटक २ मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजना निर्माण भयो । त्यसयता हालसम्म यहाँ साना र ठुला गरी ९ वटा जलविद्युत् अयोजना सञ्चालनका लागि निर्माण सुरु भएकाले यहाँको स्वरूप फेरिएको छ ।

जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेसँगै यहाँ बसाइँ सरेर आउनेको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । ३ दशक अघिसम्म ७०/७५ घरधुरी रहेकामा अहिले ५ सयभन्दा बढी घरधुरीको बसोबास छ । यस वर्ष मात्रै करिब ४० भन्दा बढी व्यक्ति अन्य गाउँबाट बसाइँसराइ गरी यहाँ आएका छन् ।

पछिल्लो सयम नारच्याङ ‘हाइड्रो भिलेज’का नामले चर्चित छ । यहाँ केही निर्माणाधीन र केही निर्माण सम्पन्न भएका ४२१ मेगावाटका ९ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् ।

यी आयोजनामा काम गर्न उत्तरी म्याग्दीका विभिन्न गाउँबाट बसाइँ सरेर अहिले नारच्याङ आउनेको संख्या बढ्दै गएको वडाअध्यक्ष लोकबहादुर फगामीले बताए । उनका अनुसार जलविद्युत् आयोजना निर्माणका कारण यहाँका युवाले गाउँमै रोजगार पाएका छन् । रोजगारीका लागि विदेश जानेको संख्या घटेको छ । आयोजनामा शेयर लगानी गर्ने र लगानीबापत पाउने बोनस रकमले यहाँका बासिन्दाको जीवनस्तरमा सुधार आएको छ ।

उक्त गाउँपालिका–५ पाउद्वारबाट बसाइँ सरेर नारच्याङ आएका फत्तेबहादुर तिलिजाले गाउँमै रोजगारीका साथै सुरक्षित व्यवसायको सम्भावना देखेर यहाँ आएको बताए । ‘पोखरा, काठमाडौँलगायत शहरमा जान सकिँदैन, यहाँ जलविद्युत् आयोजना धमाधम निर्माण भइरहेका छन् । आफ्नै गाउँघरमा रोजगारी पाइने भएपछि परिवारको सुरक्षित भविष्यका लागि पाउद्वारबाट बसाइँ सरेर यहाँ आएका हौँ’, उनले भने ।

१ वर्षयता ४० भन्दा बढी परिवार बसाइँ सरेर यहाँ कामका लागि आएका छन् । काम र शिक्षाका लागि बसाइँ सर्ने क्रम नरोकिएकाले यहाँ आउनेको संख्या अझै बढ्ने वडा–४ का सचिव अमृत नेपालीले जानकारी दिए । नारच्याङमा जलविद्युत् निर्माण हुनुका साथै प्राविधिक शिक्षालय सञ्चालन भएपछि इन्जिनियरिङ पढ्न यहाँ आउनेहरूले पनि बसाइँ सर्ने गरेको उनको भनाइ थियो । रोजगारीसँगै गुणस्तरीय शिक्षा पाइने भएपछि बसाइँसराइ गरेर आउनेको संख्या बढेको वडाध्यक्ष फगामीले बताए ।

‘यहाँबाट रोजगारी तथा शिक्षाका लागि काठमाडौँ, पोखरालगायत शहरमा गएका व्यक्ति पनि धमाधम गाउँ फर्किंदै छन्, बाहिरबाट बसाइँसराइ गरेर आउनेहरू पनि थपिएका छन्,’ उनले भने, ‘जलविद्युत्ले जग्गाको मूल्य राम्रै दिएको छ । पुराना घर हट्दै नयाँ पक्की घर बनेका छन् । स्थानीयबासीले गाउँमै रोजगारी पाउनुका साथै होटल सञ्चालन गरी व्यावसाय गरेर पर्यटकसमेत भित्र्याएका छन् ।’

कालीगण्डकी, म्याग्दी र रघुगंगा नदीमा गरी २ दर्जनभन्दा बढी जलविद्युत् आयोजना म्याग्दीमा निर्माणाधीन अवस्थामा छन् । तीमध्ये ९ वटा जलविद्युत् आयोजना नारच्याङमा मात्रै सञ्चालित छन् । कालीगण्डकी नदीसँगै अन्नपूर्ण र नीलगिरि हिमालबाट बग्ने मिस्त्री, घलेम्दी, नीलगिरि, रेलेखोलालगायत खोलामा जलविद्युत् आयोजना निर्माण हुन थालेपछि यहाँका बासिन्दाकोे जीवनस्तर फेरिएको वडा सदस्य यामकुमारी सोतन्जाले बताइन् ।

जलविद्युत् आयोजना भित्रिएसँगै गाउँका युवा रोजगारीका लागि विदेश जानेक्रम कम हुँदै गएको अन्नपूर्ण युवा क्लबका अध्यक्ष टंकबहादुर पुलने बताए । ‘पहिले गाउँमा रोजगार नहुँदा ‘विदेश, विदेश भन्थे’, अहिले धमाधम जलविद्युत् आयोजनाले युवालाई रोजगारी दिएकाले उनीहरूको दैनिक जीवन सहज भएको छ,’ उनले भने । अन्नपूर्ण र नीलगिरि हिमालको काखमा रहेको नारच्याङका ५०० घरधुरीका प्रत्येक व्यक्ति गाउँमा नै रोजगार छन् ।

२०४४ सालमा २ मेगावाटको तातोपानी जलविद्युत् आयोजना निर्माण भएपछि ४० मेगावाटको मिस्त्रीखोला, ५ मेगावाटको घलेम्दी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिसकेका छन् । १०७ मेगावाटको नीलगिरि खोला–१ र नीलगिरि खोला–२ ले कामलाई अन्तिम चरणमा पु¥याएका छन् । ६ मेगावाटको रेलेखोला, ९ मेगावाटको सुपर घलेम्दी, ५२ मेगावाटको मध्य कालीगण्डकी, २०० मेगावाटको कालीगण्डकी गर्ज निर्माणाधीन छन् ।