१ वर्षमा थपियो ५०० मेगावाट बिजुली

१ वर्षमा थपियो ५०० मेगावाट बिजुली

विकास टाइम्स
0
Shares

काठमाडौँ ।

आर्थिक समृद्धिको आधार स्तम्भका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ ।

वर्ष–२०७९ मा मुलुकको प्रणालीमा झण्डै ५०० मेगावाट बिजुली थप भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रणालीमा बिजुली थप हुने क्रम क्रमशः वृद्धि भएको छ । यही अवस्था कायम रहे आगामी असार मसान्तसम्म मुलुकको कुल जडित क्षमता करिब ३ हजार मेगावाट बराबर पुग्नेछ ।

आन्तरिक खपतमा वृद्धि गर्दै ऊर्जा निर्यातमार्फत् आर्थिक उपार्जन गर्न सरकारले प्रभावकारी पहल गरिरहेको छ । प्राधिकरणका अनुसार हालसम्म २ हजार ६८९ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिइसकेको छ । आगामी असारसम्म थप १५ आयोजना निर्माण सम्पन्न हुनेछ ।

त्यसमा प्राधिकरणका सहायक कम्पनीले निर्माण गरेका आयोजनासमेत छन् । सो वर्षभरि नै कुल १९ वटा आयोजना पूर्ण रूपमा सञ्चालनमा आए । त्यस्तै, ९ वटा आयोजना परीक्षणको अन्तिम चरणमा पुगेका छन् ।

ती आयोजनाको बिजुलीसमेत प्रणालीमा जोडिसकेको छ । यो वर्ष प्रणालीमा जोडिएको जलविद्युत् परियोजनामध्ये निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठुलो आयोजना हो– सोलुखोला दूधकोसी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको आयोजना साहस ऊर्जाले निर्माण गरेको हो । सो आयोजनाले गत फागुन १७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो ।

प्रणालीमा जलविद्युत् आयोजनाका अलावा सौर्य परियोजनासमेत जोडिएका छन् । गत वर्ष ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीलगायत आयोजना प्रणालीमा जोडिँदा त्यसले मुलुकको ऊर्जा क्षेत्रमा नै रणनीतिक परिवर्तन गरिदिएको थियो ।

वर्षायाममा पूर्ण रूपमा बिजुलीमा आत्मनिर्भर बनेको मुलुक क्रमशः हिउँदमा समेत सहज अवस्थामा पुग्न लागेको छ । निर्माणका क्रममा रहेका ३ हजार २८० मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा छन् ।

ती सबै आयोजना निर्माण सम्पन्न हुँदा प्रणालीमा झन्डै ७ हजार मेगावाट बराबर बिजुली पुग्नेछ । प्राधिकरणले आगामी वर्षायाममा झन्डै १ हजार २०० मेगावाट बराबरको बिजुली बिक्रीका लागि तयारी गरिरहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अनुसार निजी क्षेत्रले प्रवद्र्धन गरेका केही आयोजना हाल परीक्षण उत्पादनको क्रममा छन् ।

ती आयोजनाले प्राधिकरणका कर्मचारीको उपस्थितिमा १५ दिन परीक्षण उत्पादन गरेपछि व्यावसायिक उत्पादन सुरु गर्नेछन् । बेनी हाइड्रोपावरले प्रवद्र्धन गरेको माथिल्लो सोलु खोला जलविद्युत् आयोजनाको परीक्षण अन्तिम चरणमा छ ।

कम्पनीका प्रबन्ध निर्देशक गणेश कार्कीका अनुसार आयोजनाको बिजुली प्रणालीमा जोडिइसकेको र केही दिनभित्रै व्यावसायिक उत्पादन सुरु हुनेछ । माथिल्लो सोलु १९.८ मेगावाट क्षमताको आयोजना हो ।

प्राधिकरणका अनुसार संखुवासभाको माया खोला १४.९ मेगावाट क्षमताको आयोजनाले परीक्षण उत्पादन सम्पन्न गरी व्यावसायिक उत्पादन सुरु गर्दै छ । यस्तै रुकुमको रुकुमगाड ५ मेगावाट, सिन्धुपाल्चोकको घट्टेखोला झन्डै १ मेगावाट पनि व्यावसायिक उत्पादन थाल्दै छ । लमजुङको सुपर दोर्दी ‘ख’ ५४ मेगावाट, नवलपरासीको सौर्य परियोजना २ मेगावाट पनि प्रणालीमा जोडिइसकेको छ ।

त्यस्तै, मोरङको ६.८ मेगावाट र बाँकेमा आयोजना स्थल रहेको १० मेगावाट क्षमताको सौैर्य परियोजनाको बिजुली पनि प्रणालीमा जोडिएको छ । परीक्षण उत्पादन भइरहेको अधिकांश आयोजनाबाट बिजुली प्रणालीमा आइरहेकाले प्राधिकरणलाई बिजुली व्यवस्थापनमा सहज भइरहेको छ ।

प्राधिकरणका अनुसार १० मेगावाट क्षमताको मकरीगाड आयोजनाले पनि यसै वर्ष व्यावसायिक उत्पादन सुरु गरेको हो । दार्चुलामा आयोजना स्थल रहेको सो आयोजनाले सुदूरपश्चिम प्रदेशको बिजुली व्यवस्थापनमा सहयोग पुगेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षको अन्त्यसम्म रसुवागढी, सान्जेन र मध्यभोटेकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्न सम्बद्ध निर्माण व्यवसायीलाई यसअघि नै निर्देशन दिइसकेका छन् ।

ती आयोजना सार्वजनिक–निजी साझेदारीमा निर्माण भइरहेका छन् । जम्मा १११ मेगावाट क्षमताको रसुवागढी, माथिल्लो र तल्लो सान्जेन ५७ मेगावाट र १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा जोडिएपछि त्यसले थप सकारात्मक प्रभाव पार्नेछ ।

वर्ष २०७९ मा प्राधिकरणले ४२५ मेगावाट बराबरको बिजुली भारत निर्यात गरेको थियो । प्राधिकरणले बिजुली निर्यातबाट मात्रै चालु आवमा ८ अर्ब ४४ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । यस वर्ष बर्खामा बढी हुने १ हजार २०० मेगावाट बिजुली निर्यात गर्ने तयारी भइरहेको छ ।

यस्तै, वर्ष २०७९ मा भारतसँग ऊर्जा व्यापारका लागि महत्वपूर्ण संवाद भएको थियो । बंगलादेशमा पनि प्रारम्भिक रूपमा ५० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भएको छ । न्यू बुटवल गोरखपुर ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणको प्रक्रिया अघि बढेको छ ।

त्यस्तै, सरकारले १ हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी दर्ता गरेर प्रक्रिया अगाडि बढाएको छ । केही ठुला आयोजना निर्माणका लागि भारतीय कम्पनीले चासो देखाएका छन् ।

कुल ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ आयोजनामा भारतीय कम्पनी एनएचपिसीले निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । ऊर्जा क्षेत्रमा क्रमशः वैदेशिक लगानी आकर्षित भइरहेको छ ।

यस्तै, आन्तरिक रुपमा स्वदेशी लगानीकर्ताले नै एक हजार पाँच सय ५३ मेगावाट बराबरका आयोजना निर्माणमा लेजाने तयारी गरिरहेको इपानका कार्यकारी सदस्य प्रकाश दुलालको भनाइ छ । निर्माणधीन र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको कुल क्षमता मात्रै ४ हजार ८३४ मेगावाट बराबर छ ।

त्यस्तै, झन्डै ९६.५ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । यस आधारमा हेर्दा गत वर्ष नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि महत्वपूर्ण वर्षको परिचय बनाएर हामीबाट बिदा भएको छ ।